काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो ।
त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै ‘संक्रमणको साङ्लो चुडाउन’ उडान बन्द गर्नुपर्ने निर्णय लिएको बताएका थिए । त्यसयता किस्ता किस्तामा शर्तसहित गन्तव्य तोकेर अन्तर्राष्ट्रिय उडान खुला गरिँदै ल्याइएको थियो ।











