Logo
Logo

अज्ञात रोगले ५३ वटा बाख्रा मरे


दृष्टि संवाददाता


चितवन । देवघाटको एक व्यावसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रूपमा बाख्रा मरेका हुन् । पछिल्लो दिनमा यो सङ्ख्या बढ्दो छ ।

देवघाट गाउँपालिका–५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको कृषि फर्मका बाख्रा मरेका हुन् । भरतपुर महानगरपालिका–९ निवासी भट्टराईले गतवर्षको असोजदेखि बाख्रा फर्म शुरु गरेका हुन् ।

उनका अनुसार माउ बाख्रा बढी सङ्ख्यामा मरेका छन् । उनले भने ‘पछिल्ला दिनमा दैनिक एउटा बाख्रा मर्ने गरेका छन् ।’ अहिले पनि सात वटा बाख्रा बिरामी भएको उहाँले जानकारी दिए ।

फर्ममा ११० वटा बाख्रा रहेका थिए । रु ४० लाख लगानी गरेर फर्म शुरु गरेको भन्दै उनले भने, ‘ २२ लाखभन्दा बढी मूल्यका बाख्रा मरिसके । अझै रोगको पहिचान हुन सकेको छैन ।’

विज्ञले रगत घट्ने र हेमोग्लोबिन कम हुने समस्या रहेको जनाएको उनले बताए । उनले भने, ‘बाख्रालाई रगत दिनका लागि अनुमति लिन अहिले भेटेनरी कार्यालय भरतपुर आएको छु ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनबाट बाख्राको शव परीक्षण गरी नमूना परीक्षणको लागि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाएको कार्यालयले जनाएको छ ।

बाख्राको रगत र स्वाब सङ्कलन गरेर काठमाडौँ पठाएको १४ दिन भए पनि अहिलेसम्म नतिजा नआएको उनको भनाइ छ । जुनजुन बाख्राको नमूना पठाइयो, ती बाख्रा मरिसकेको उनले बताए । बाख्रालाई १०८ डिग्रीसम्म ज्वारो आउने खान छाड्ने र क्रमशः शिथिल भएर मर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्