Logo
Logo

स्तरोन्नति सकेर सेनाले बुझायो कालीगण्डकी करिडोर


दृष्टि संवाददाता


बागलुङ । १० मिटर चौडाइको काम सकेर कालीगण्डकी करिडोर मालढुङ्गा–रिडी खण्ड सडक विभाग कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले स्तरोन्नति गरेको मालढुङ्गा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नति गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४ दशमलव ५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताए ।

बाग्लुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाले ट्र्याक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतिको काम सकेको जनाएको छ ।

यस खण्डको एक समारोहबीच नेपाली सेनाका प्राविधिक सह–सेनानी शालिग्राम नेपालले सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियर नवराज बाँस्तोलालाई हस्तान्तरण गरे । रिडी­–मालढुङ्गा ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुङ्गा–बलेवा विमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो भने गुल्मी खण्डको २७ किलोमिटर सडक समेत हस्तान्तरण भइसकेको थियो ।

एक अर्ब ८६ करोड रुपैयाँ खर्चेर सेनाले करिडोर स्तरोन्नति गरेको हो । बाग्लुङ–गुल्मी खण्डको २०७० सालमा सेनाले जिम्मेवारी लिएर काम गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ट्रयाक खोल्ने काम सकिएपछि यो आयोजनाले स्तरोन्नतिका लागि २०७५ सालमा जिम्मा लिएको थियो । सरकारले दिएको जिम्मेवारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरिएको सेनाका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताए ।

यस खण्डमा पाँच वटा बेलिब्रिजसहितका संरचना बनेका छन् । सडक विभाग, कालीगण्डकी करिडोर आयोजनाको जिम्मामा आएको सडकलाई तत्काल वातावरणीय परीक्षण गरेर विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिने आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताए । ‘तीन महिनामा डीपीआर हुन्छ, बाँकी तीन महिनामा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईई) गरेर सक्छौं’ , देवकोटाले भने, ‘कलोपत्रका लागि योजना माग गरेर फाइल स्वीकृत हुने बेलासम्म सबै काम सकिन्छ ।’ एक करोड रुपैयाँ बजेट आउँदो आर्थिक वर्षमा डीपीआर र आईईका लागि विनियोजन भएको देवकोटाले जानकारी दिए ।

प्रमुख देवकोटाले ३० महिनामा यो सडक कालोपत्र गरेर सकिने दाबी गरे । ‘काम गर्न क्रियाशीलता, निरन्तरता र सक्रियता चाहिन्छ, त्यो हामीमा छ’ , देवकोटाले भने, ‘हामी समयमा काम गर्न निरन्तर लाग्छौं ।’ सडक हस्तान्तरण भएसँगै अब कालोपत्रको काम सुरु हुनेमा स्थानीयवासी आशावादी छन् । स्तरोन्नतिपछि हस्तान्तरण गरेको सेनाको निर्माण कार्यदलले हर्मिचौरमा रहेको क्याम्पले आउँदो असोजसम्म सडकमा हुने क्षतिको मर्मत गर्ने जिम्मेवारी समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्