Logo
Logo

भारतीय तस्करले चोरी गरेका १२ राँगा र भैंसी फिर्ता ल्याइयो


दृष्टि संवाददाता


धनगढी । कञ्चनपुरबाट चोरी गरेर भारततर्फ लगिएको १२ राँगा र भैंसीको उद्दार गरिएको छ। शुक्रबार जिल्लाको बेल्डाँडी गाउँपालिका–५ को शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै चर्दै गरेका राँगा र भैंसीलाई पाँच जनाको समूहमा आएका भारतीय तस्करले १३ वटा राँगा र भैंसी डर धम्की देखाएर चोरी गरेका थिए।

त्यसमध्ये १२ वटा भारतीय क्षेत्रबाटै उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले स्थानीय र भारतीय एसएसबीसँगको समन्वयमा शनिबार सीमादेखि झण्डै ८ किलोमिटर टाढा पिलिभितबाट उक्त राँगा र भैंसी फिर्ता ल्याएको हो।

एउटा राँगा भने फेला नपरेको प्रहरीले जनाएको छ। शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै सीमा क्षेत्रमा चराइरहेका बेला स्थानीय अरुण उपाध्यायलाई डरधम्की देखाएर तस्करको समूहले लगेको थियो।

बेल्डाँडी गाउँपालिकाका शंकर थापाका दुई भैंसी, नवराज कठायतको एउटा भैंसी, गोमा रावतको दुई राँगा, चन्द्र बहादुर रावतको एउटा राँगा र चार भैंसी, तेज बहादुर रावतको एउटा भैंसी र एक वटा भैंसीको उद्दार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्