काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरुको सक्रियतामा दर्ता भएको निवेदन खारेज गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको श्रेष्ठले बताए ।
‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन। निवेदनको सन्दर्भमा केही निर्णय गरिरहनु परेन । निवेदकको दाबी पुग्दैन । दलको दर्ता खारेज हुँदैन। निवेदन खारेज भयो,’ प्रवक्ता श्रेष्ठले भने।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेताहरु बादल, टोपबहादुर रायमाझी, प्रभु साह लगायतको पहलमा अधिवक्ता सरोज बुढाथोकीले गत असार २३ गते माओवादी केन्द्र अवैधानिक रुपमा चलिरहेको भन्दै दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।











