काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले दिएको फैसलाले संविधान, लोकतन्त्र र जनताको हितको पक्षमा निर्णय गरेको बताएका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि अध्यक्ष प्रचण्डले उक्त प्रतिक्रिया दिएका हुन् ।
प्रचण्डले संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिए । उनले भने– ‘पटक(पटकको संसद विघटनले मुलुक निकै अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको थियो। आज सर्वोच्चले जो फैसला गरेको छ, त्यसले संविधान, राष्ट्रियता, लोकतन्त्र र जनताको हितको पक्षमा सही निर्णय गरेको छ। फैसलालाई म स्वागत गर्छु, संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।’
अध्यक्ष प्रचण्डले अब गठबन्धकाे सरकार बनाउने र जनताको हितमा समर्पित भएर काम गर्ने बताए । उने भने, ‘अब हामी गठबन्धन बनाएर नै अगाडि बढ्छौं । हामीले तीन वटा मूलभुत कुरा भनेका थियौं- संविधानवादको रक्षा, लोकतन्त्रको मूल्य मान्यताको रक्षा र राष्ट्रियताको रक्षा यसैका लागि हामीले गठबन्धन बनाएर अगाडि बढेका थियौं, गठबन्धनमार्फत् राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिवद्धता छ।’












