काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंग्याउनका लागि निर्वाचन आयोगमा सुनुवाइ सुरु भएको छ । दुवै पक्षले आफूहरू पार्टीमा एक भएर बस्न नसक्ने भन्दै छुट्टाइदिन सहमति जनाएपछि आयोगले आजबाट सुनुवाइ गरी कानुनी रूपमा टुक्रयाइदिन लागेको हो ।
सत्ता समीकरणका विषयमा देखिएको विवाद चरमोत्कर्षमा पुगेपछि विभाजनको आधिकारिकता खोज्न गत असार २२ गते आयोग पुगेर दुवै पक्षले ‘हामीलाई अलग गरिदिनुस्’ भनेर माइन्युटमा हस्ताक्षर गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा गठित इजलासमा जसपाको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दाको आइतबार सुनुवाइ सुरु भएको हो ।
सुनुवाइमा बहसका लागि उपेन्द्र–बाबुराम पक्षबा६ ९ जना कानुन व्यवसायी छन्। यस्तै, ठाकुर–महतो पक्षबाट ८ जना कानुन व्यवसायीहरु छन् ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा विवाद भएपछि जसपा फुटको चरणसम्म पुगेको हो ।
पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले तत्कालिन ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओली सरकारविरुद्ध आन्दोलन गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको थियो ।











