Logo
Logo
ओलीलाई प्रचण्डको प्रश्न

गोहीको आँशु चुहाएर तपाईलाई कसले पत्याउँछ ?


दृष्टि संवाददाता

4.9k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे ।

एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए । 

प्रचण्डले  दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् । ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको हो । यस्तो दुर्दशा यति छिटो देख्नुपर्ने भए किन गठबन्धन र किन पार्टी एकताको प्रस्ताव लान्थे होला । यो बीचका घटनाक्रम उचित लागिरहेको छैन ।’ उनले भने ।

निवर्तमान प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले संसद्‌मा बोल्ने अपेक्षा राखे पनि त्यो नभएकोमा प्रचण्डले आपत्ति जनाए । ‘आज प्रमुख सचेतकले सोधे । ओलीजी आउनुहुन्छ, बोल्नुहुन्छ भन्ने सोधे । यो सदनले केपीजीको मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो । देशले पनि निवर्तनमान प्रधानमन्त्रीले बोलेको सुन्न चाहेको थियो । यो अलिअलि अस्वाभाविक जस्तो । यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक हो भन्ने कुरामा पनि,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्