Logo
Logo

राष्ट्रियसभामा समसामयिक विषयमा छलफल


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रियसभाको नवौँ अधिवेशन आइतबारबाट सुरु भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए । अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

अधिवेशन प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेकाले जोखिम नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिन सरकारसमक्ष माग गरे ।

त्यस्तै नेकपा (एमाले) का सुमनराज प्याकुरेलले सत्ता प्राप्तिका लागि दलीय प्रणालीलाई समेत कमजोर पार्नेगरी सर्वोच्च अदालतको फैसलाले विधिको शासनमाथि प्रश्न चिन्ह लागेको र सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न खोजिएको आरोप लगाए ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले प्रतिपक्षलाई विश्वासमा लिएर सहमति र सहकार्यको संस्कृतिलाई बढावा दिई मुलुकमा व्याप्त समस्याको समाधानका लागि सबै राजनीतिक दललाई आग्रह गरे।

सांसद प्रमिला कुमारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने ध्येयका साथ सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकामा प्रसन्नता व्यक्त गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्