काठमाडौं। नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
वि. सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । राजनीतिमा .बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’ नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिको योद्धा हुनुन्थ्यो । उहाँले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नुुभयो ।
राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभएका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो ।
उहाँले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन । निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो ।
त्यसपछि उहाँ आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र सङ्घर्षमै उहाँको जीवन बित्यो । ‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यताबाट अगाडि बढ्नु भएका बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्नु सक्नुहुन्थ्यो तर उहाँले सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीति गर्नुभयो ।