Logo
Logo

विपद् व्यवस्थापनमा खटिन संसदीय समितिकाे निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो, डुवान लगायत विपद् व्यवस्थापनका सम्बन्धमा तीनै तहको सरकार मिलेर आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बाढी, पहिरो, डुवानपछि उद्धार र राहतका काममा मात्र केन्द्रीत नभई प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गर्दै तीनै तहको सरकार मिलेर आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले विपद् व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखि बिपत तथा जोखिमका सूचनाको पूर्वअनुमान गर्न सक्ने सूचना पारदर्शी रुपमा जुनसुकै समयमा नै जनताले जानकारी पाउन सक्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै बैठकले विपद् व्यवस्थापनको कार्य गर्दा सरकारी तथा गैर सरकारी पक्ष र नागरिकबीच सहकार्य र साझेदारी कायम गर्दै बिपद व्यवस्थापन प्राधिकरणको भूमिकालाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन् । हालैका बिपतबाट बढि क्षेत्रमा स्थानीय पूर्वाधारलाई मर्मत गरि सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अवरुद्ध भएका सडकहरुलाई छिटो भन्दा छिटो खुलाउने प्रयत्न भइरहेको जानकारी दिए ।बैठकमा सांसदहरुले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्