Logo
Logo

उपेन्द्र यादव समूहले जसपाको आधिकारिकता पाउँदै


सन्तोष साह


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएसँगै आगामी रणनीति तय गर्न दुवै समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर समूहबीच आधिकारिकता विवाद उत्कर्षमा पुगेपछि त्यसको फैसला निर्वाचन आयोगले सोमबार गर्दैछ ।

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा बिभाजित जसपा नेताहरु मिल्नुभन्दा छुटिनु नै हितकर हुने निष्कर्षमा पुगेका छन् । प्रतिनिधिसभा विघटन पश्चात अध्यक्ष यादव समूह पुनःस्थापनाको पक्षमा उभियो भने अध्यक्ष ठाकुर समूह ‘विघटन सही हो’ भन्दै निर्वाचनमा होमिनु पर्ने पक्षमा उभियो ।

ओली सरकारमा सहभागी हुने की नहुने ? भन्ने बिषयमा विवाद शुरु भएपछि पार्टी नै दुई समूहमा विभाजित भयो । यस बीचमा एकपक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने क्रम चल्यो । केही समयका लागि भएपनि ठाकुर समूह वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा सहभागी भयो । उता यादव समूह प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आन्दोलनमा होमियो ।

अन्ततः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेपछि ओली सरकार बिघटन भयो । प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको ३ साउनको संसद बैठकमा यादव समूहले मात्रै नभई ठाकुर समूहका सांसदले समेत देउवालाई विश्वासको मत दियो । दुवै समूहले विश्वासको मत दिएपछि जसपा मिल्छ कि भन्ने आशा गरिएता पनि त्यो सम्भव भएन् ।

कुन समूह बलियो ?
फुट नजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समिति र संसदीय दल दुवैैतर्फ बहुमतसहित बलियो भएको छ ।

कार्यकारिणी समितिमा यादव समूह बहुमत
उपेन्द्र पक्षकाअनुसार ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३२ जना छन् । यसरी हेर्दा ठाकुरको पक्षमा १८ जना सदस्य मात्र रहनेछन् । एक सदस्य (राजकिशोर यादव) तटस्थ बसेका छन् । ठाकुर समूह सरकारमा सहभागी हुँदा राजकिशोर मन्त्री भए पनि अहिले भने राजकिशोर अझै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढनुपर्ने भन्दै तटस्थ बसेका छन् ।

संदसदीय दलमा यादव समूह बहुमत
यस्तै संसदीय दलमा ३४ सांसद जसपासँग छ । एक जना निलम्बन र एक जना जेलमा रहेका भएकाले जसपाको अहिलेको सांसद संख्या ३२ हुन्छ । ३२ सांसदमध्ये अहिले यादवको पक्षमा १९ र ठाकुरको पक्षमा १२ जना सांसद मात्रै छन् । किनकी सांसद राजकिशोर यादव कुनै पक्षमा छैनन् । ओली सरकारमा सहभागी हुने दिन २० सांसद ठाकुरको पक्षमा रहेकोमा ७ जना सांसदले ठाकुरको साथ छोडेर यादव पक्षमा लागिसकेका छन् ।

ठाकुर–महतोको पक्षमा रहेका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल, रुही नाज, रेनुका गुरुङसहित ७ जना अहिले यादवको पक्षमा लागेका छन् । यस्तै पूर्व राजपाबाट जसपा कार्यकारिणी समितिका सदस्य रहेका सात जना नेता यादवको पक्षमा लागेपछि ठाकुर र महतो समूह कमजोर र यादव समूह बलियो बन्दै गएको देखिन्छ । अहिले पनि कार्यकारिणी समितिका सदस्य तथा सांसद तानातानमा रहेकाले नेताहरु गुट परिवर्तको क्रम जारी नै छ ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच १० बैशाख २०७७ मा रातारात पार्टी एकीकरण भएको थियो । पार्टी एकता भएको एक वर्ष नबित्दै पार्टीभित्र सरकारमा सहभागी हुने बिषयमा तीब्र विवाद शुरु भएको हो ।

पदाधिकारीमा पनि यादव समूह बहुमत
पार्टी एकता पश्चात ५१ सदस्यीय कार्यकारिणी समिति र पाँच सदस्यीय पदाधिकारी बनेको थियो । पाँच सदस्य पदाधिकारीमा तीन जना यादव पक्षमा र दुई जना ठाकुर पक्षमा रहेका छन् । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राई यादव समूहमा छन् भने अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोे अर्को समूहमा छन् ।

के गर्दैछ निर्वाचन आयोग ?
पार्टीभित्र आधिकारिकताको विवाद चर्किएपछि दुवै समूह निर्वाचन आयोग पुगे । पहिलोपटक निर्वाचन आयोग पुग्दा दुवै समूहलाई आयोगले एकताबद्ध भएर अगाडि बढ्न भन्दै कुनै निर्णय गरेन । त्यसपछि दोस्रोपटक यादव समूह पुनः आयोग पुगेर आधिकारिताको दावी पेश गर्यो ।

उता कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर समूहले यादव समूहका नेतालाई कारवाही गर्दै आफूखुसी कार्यकारिणी समितिमा हेरफेर गर्दै बहुमत आफ्नो पक्षमा रहेको दावीसहित आयोगमा आधिकारिता दावी पेश गर्यो ।

अहिले निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएको छ । आयोगले पार्टी आधिकारिकता सम्बन्धमा जसपा एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाएको छ । दुवै पक्षको बहसपछि आयोगले गत बिहीबारको निर्णयबाट दुवै पक्षलाई बोलाएको हो ।

सनाखतका लागि ११ साउन बिहान ११ बजे नागरिकताको सक्कलसहित ५१ जना कार्यकारिणी समितिका सदस्यलाई उपस्थित हुन आयोगले भनेको नेता मोहम्मद इस्तियाक राईले बताए ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो । निर्वाचन आयोगमा गत बिहीबार यादव र ठाकुर पक्षका कानून व्यवासयीले बहस गरेका थिए ।

अध्यक्ष यादव पक्षले एकता ताकाकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो भने अर्का अध्यक्ष ठाकुर पक्षले पुनःगठन गरिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो । ठाकुर पक्षले आफूनिकट नेतालाई कार्यकारिणी समितिमा मनोनीत गर्दै आफूसँग बहुमत रहेको दावी आयोगमा गरेको थियो ।

३ साउनदेखि आयोगको इजलासमा बहस भइरहेको थियो । बहसपछि आयोगले ११ साउनमा दुवै पक्षका कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले बताए । सनाखतपछि आयोगले फैसला सुनाउने उनले बताए ।

ठाकुर समूह सर्वोच्च अदालत किन गयो ?
यसैबीच, जसपा अध्यक्ष ठाकुर समूह आधिकारिकता विवादमा निर्वाचन आयोगको आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । जसपा आधिकारिकता विवादमा निर्णय सुनाउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यहरूलाई परिचयपत्रको सक्कल प्रतिसहित उपस्थित हुन आदेश गरेपछि त्यसविरुद्ध ठाकुरले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ ।

पार्टीको आधिकारिकता विवादमा आयोगबाट आफ्नो पक्षमा निर्णय नआउने देखेपछि ठाकुर सर्वोच्च पुगेका हुन् । उनले ७ साउनमा आयोगबाट भएको आदेश बदरको माग गरेका छन् ।

ठाकुरले शुक्रबार अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा निर्वाचन आयोग र अध्यक्ष यादवविरुद्ध रिट दर्ता गराए पनि शुक्रबार नै अदालतले कुनै निर्णय गरेको छैन् । अधिवक्ता प्रदीपकुमार पाठकलाई वारेस नियुक्त गरी ठाकुरले मुद्दा दर्ता गराएका छन् ।


निर्वाचन आयोगले पुरानो कार्यकारिणी समितिलाई मान्यता दिएर ‘हेडकाउण्ट’का लागि बोलाएको निर्णय रोक्न ठाकुर सर्वोच्च अदालत पुगेका हुन् । ठाकुरको तर्फबाट पाठकले शुक्रबार दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगले गर्न लागेको ‘हेडकाउण्ट’लाई रोक्न आदेश माग गरिएको छ । तर, सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन प्रतिकुल हुनेगरी फैसला गर्ने सम्भावना छैन ।

आधिकारिक को ?
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को धारा ४४ मा विवाद निरुपणसम्बन्धी कार्यविधि रहेको छ । जसअनुसार आयोगले कुनै दलमा विवाद भएमा सोही धारा अनुसार निर्णय गर्नेछ । ऐनको धारा ४४ को उपधारा (६) को उपदफा (५) बमोजिम सहमति कायम हुन नसकेमा आयोगले उपदफा (१) र (३) बमोजिमको दावी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता दिन सक्नेछ भने सोही बमोजिम र त्यसरी मान्यता दिन सकिने रहेनछ भने उपदफा (१) बमोजिम आयोगमा दावी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ । त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनु अघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्न सक्नेछ ।

राजनीति दलसम्बन्धी यही ऐनअनुसार अहिले जसपामा यादव पक्षसँग कार्यकारिणी समितिमा बहुमत रहेकाले यादव समूहले नै आधिकारिता पाउँनसक्छ । ठाकुर र महतो समूहले अर्को दल दर्ता गर्नुपर्ने देखिन्छ । कानूनी व्यवस्थाअनुसार कार्यकारिणी समिति र संसदीय दलमा यादव पक्ष बहुमत रहेकाले यादव समूहले नै आधिकारिता पाउने निश्चित भएपछि ठाकुर पक्ष आयोगको निर्णय रोक्नुपर्ने माग गर्दै सर्वोच्च पुगेको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा को कता ?

यादव समूहमा रहेका कार्यकारिणी सदस्यहरुः
१. डा बाबुराम भट्टराई
२. उपेन्द्र यादव
३. अशोक राई
४. राजेन्द्रप्रसाद श्रेष्ठ
५. नवराज सुवेदी
६. परशुराम खापुङ
७. बाबुराम कार्की
८. रकम चेम्जोङ
९. रेणु यादव
१०. लालबाबु राउत
११. हिसिला यमी
१२. हेमराज राई
१३. गंगानारायण श्रेष्ठ
१४. रणध्वज कन्दङ्वा
१५. प्रकाश अधिकारी
१६. इस्तियाक राइ
१७. दुर्गा सोब
१८. परशुराम बस्नेत
१९. प्रशान्त सिंह
२०. भक्तबहादुर शाह
२१. सुशिल श्रेष्ठ
२२. विजयकुमार यादव
२३. रामसहाय यादव
२४. दानबहादुर विश्वकर्मा
२५. डम्बर वल्लव खतिवडा
२६. महेन्द्रराय यादव
२७. मृगेन्द्रकुमार सिंह
२८. नवलकिशोर साह
२९. रामनरेश यादव
३०. रमेशप्रसाद यादव
३१. गज्जाधर रोहित यादव
३२. अमृता अग्रहरी

ठाकुर समूहमा रहेका कार्यकारिणी सदस्यहरुः
१. महन्थ ठाकुर
२. राजेन्द्र महतो
३. शरतसिंह भण्डारी
४. अनिलकुमार झा
५. सर्वेन्द्रनाथ शुक्ला
६. वृषेशचन्द्र लाल
७. गोविन्द चौधरी
८. जितेन्द्रप्रसाद सोनार
९. लक्ष्मणलाल कर्ण
१०. उमाकान्त चौधरी
११. चन्दा चौधरी
१२. मनिषकुमार सुमन
१३. रेशम चौधरी
१४. राजकुमार लेखी
१५. केशव झा
१६. एकवाल अहमद
१७. निर्जला राउत
१८. रामकुमार ओझा

कुनै पक्ष समूहमा नरहेका (तटस्थ)
१.राजकिशोर यादव

प्रतिक्रिया दिनुहोस्