Logo
Logo

डाक्टरहरु हडतालमा, दलहरु निंद्रामा, जनताका समस्या कसले उठाउने ?


- दृष्टि न्युज/संवाददाता



सरकारी डाक्टरहरुले हडताल गरेको बु्धवार(चैत्र २७ गते) ६ दिन पुगेको छ । दैनिक एक लाखको हाराहारीमा उपचारकालागि देश भरीका सरकारी अस्पतालमा जाने सर्वसाधारण जनताले उपचार पाउन सकेका छैनन् ।

तर न त सरकारमा रहेका दलहरुले जनताको पीर व्यथामा गम्भीरतासाथ कदम चालेर समाधान निकालेका छन् । न त प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अन्य विपक्षी दलहरुले नै चासो देखाएर सरकारलाई समस्या हल गर्न वाध्य वनाउने काममा लागेका छन् ।

सरकारले कानुनको प्रयोग गरेर डाक्टरहरुलाई काममा लगाउन पनि सकेको छैन । न त सरकारले वार्ता गरेर उपयुक्त समाधान निकाल्न नै सकेकोछ । गरीव तथा निम्न मध्यम वर्गको विशाल वहुसंख्याले सेवा लिने सरकारी अस्पतालहरुको यस्तो दर्दनाक स्थिति वनिरहनु सरकारको गैरजिम्मेदार काम हो ।

डाक्टरहरुले पनि विरामी नजाच्ने तरिका भन्दा अन्य तरिका अपनाएर सरकारलाई दवाव दिन सक्नु पर्दछ । डाक्टरहरुले वरु सार्वजनिक स्थानहरुमा विरामीलाइ निशुल्क जाच्ने गरेर सरकारलाई दवाव दिन सक्दथ्यो । यसले जनमत र सहानुभूति डाक्टरहरुको आन्दोलनले पाउने हुन्थ्यो ।

प्रतिपक्ष पनि नालायक सावित भएको छ । देशमा प्रतिपक्ष नै नरहेको जस्तो स्थिति छ । जनताका समस्याहरु सरकारले नहेरेको समयमा प्रतिपक्षले जनताका समस्याहरु समाधानकालागि सरकारलाई विभिन्न तरिकावाट दवाव दिने गर्नु उसको कर्तव्य हो । त्यो कर्तव्यवाट प्रमुख प्रतिपक्ष च्युत भएकोछ ।

नेपालमा अन्य दलहरुपनि छन् । तर उनीहरुले पनि जनताका यस्ता समस्याहरु उठाएर विविध आन्दोलनहरु मार्फत सरकारलाई दवाव दिने र जनताका समस्याहरु समाधान गर्न लगाउने काममा जाँगर चलाउन छोडेको देखिन्छ ।

मधेश केन्द्रित दलहरुलाई मधेशका समस्या मात्रै आफ्ना जस्तो लाग्ने गर्दछ । मोहन विक्रम नेतृत्वको मसाल र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले वक्तव्य दिने र चिन्ता जाहेर गर्नेमा सीमित छ ।

विप्लव नेतृत्वको नेकपा आफ्ना नेता कार्यकर्ता माथि गिरफ्तारी र दमन भएपछि रिहाइकोलागि मात्रै नेपाल वन्द गर्ने गर्दछ, जनताका यस्ता गम्भीर समस्याहरुमा त्यस पार्टीको ध्यान कम गएको हो कि भन्ने देखिन्छ ।

सत्ता वाहिर रहेका कम्युनिष्टहरु मिलेर मोर्चा वनाई जनपक्षीय कामहरु गर्ने र जनताका समस्या समाधान गर्न सरकार र प्रतिपक्ष समेतलाई दवाव दिने गर्नु अहिलेको आवश्यकता हो । तर यसरी सत्ता वाहिर रहेका कम्युनिष्ट पार्टीहरु र अन्य पार्टीहरुको संयुक्त मोर्चा वनाउन पहल कसले गर्ने भन्ने अन्यौल देखिन्छ ।

सत्तापक्षीय पार्टी र संसदिय प्रतिपक्षी पार्टीहरुले जनताका समस्याहरुलाई वेवास्ता गरिरहेको समयमा जनपक्षीय पार्टीहरुको खाँचो वढेको छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्