विश्व मिडियामा छाएको चीन « Drishti News – Nepalese News Portal
Logo

विश्व मिडियामा छाएको चीन


श्याम रिमाल


-टोकियो ओलम्पिकमा चीनले शीर्ष स्थानमा छ ।

-चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले जुलाई २१ तारिखमा तिब्बतको निरीक्षण भ्रमण गर्दै ब्रह्मपुत्र र नि याङ नदीको पर्यावरणीय वातावरणको संरक्षण अवस्थाको जानकारी लिनुभएको छ । २२ तारिख बिहान राष्ट्राध्यक्ष सीले लिन्ची रेल स्टेशनको निरीक्षण गर्दै स-छ्वान तिब्बत रेलमार्गको समग्र योजना र ल्हासा–लिन्ची रेलमार्गको निर्माण तथा सञ्चालन अवस्थाबारे जानकारी लिनुभएको छ ।

-जुलाई २२ तारिखमा चीनको राज्य परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित धेरै विशेषज्ञहरुले वुहान पि–फोर प्रयोगशालाबाट कुनै पनि हालतमा भाइरस लिक हुने सम्भावना नभएको बताएका छन् । साथै, चीनले विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत चीनमा दोस्रो चरणको भाइरस स्रोत छानबिनलाई अस्वीकार गरेको जनाइएको छ ।

-चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका विभिन्न देशका राजनीतिक पार्टी नेताहरूको शिखर सम्मेलन जुलाई ६ तारिखमा भिडियोमार्फत आयोजना भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एमं राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिँदै विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्न र विभिन्न देशलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणका दिशामा बढाउन आह्वान गर्नुभएको छ ।

-सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ देखि शासन गर्दै शताब्दी वर्ष समारोह सम्पन्न गरेको छ ।

-चीनका तीन अन्तरीक्षयात्री चीनको तियान्को स्पेश स्टेशनमा जुन १७ मा पुगेका छन् ।

-चीनलाई रोक्नका लागि एकीकृत मोर्चा बनाउन अमेरिकी राष्ट्रपति बाइडेनले जि–७ का नेताहरुलाई आग्रह गरेका छन् ।

-नाटोबाट चीनको सैन्य चुनौतीप्रति चेतावनी दिएको छ ।

-अमेरिका, इयु सम्मेलनबाट ताइवानमा शान्ति र स्थिरताका लागि आग्रह गरिएको छ ।

-बाइडेन र पुटिन सम्मेलनपछि रुस र चीनले मित्रताकोस हात अघि बढाएका छन् ।

बितेका केही महिनादेखि अन्तरर्राष्ट्रिय घटनाहरुमा चीन कुनै न कुनै तरिकाले जोडिएको छ नै, चीन आफैँ समाचार निर्माता भएर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेको छ । हुपेई प्रान्तको वुहान शहरमा उत्पति भई हाल विश्व महामारी फैलाइरहेको सार्स कोभ २ अर्थात् कोरोना भाइरसका कारण त चीन विश्व केन्द्रविन्दुमा नै छ । नब्बेको दशकमा महाशक्ति सोभियत संघको अवसानपछि अमेरिका एकल महाशक्ति बनिरहेकामा समाजवादी।साम्यवादी चीन सैन्य, आर्थिक, प्राविधिक हिसाबले शक्तिशाली बनिरहेको छ । र, कोरोना महामारी समयमा पनि आर्थिक वृद्धि हासिल गरी आश्चर्यमा पारेको छ । अहिले चीनको आश्चर्यजनक उदयले विश्व दृष्टिकोण नै फेरिएको अवस्था छ ।

सोभियत संघको अवसानपछि अमेरिका एकल महाशक्ति बनिरहेकामा चीन सैन्य, आर्थिक, प्राविधिक हिसाबले शक्तिशाली बनिरहेको छ । चीनको आश्चर्यजनक उदयले विश्व दृष्टिकोण नै फेरियो ।

सन् १९७८ मा आर्थिक सुधारका योजना शुरु भएपछि चीनमा हरेक वर्ष १० प्रतिशत कुल गार्हस्थ उत्पादन वृद्धि भएको छ र असी करोड जनता त गरीबीबाट मुक्त भइसकेका छन् । सोही अवधिमा शिक्षा, स्वास्थ्य र अन्य सुविधामा पनि वृद्धि भएको छ । विश्व बैंक र संयुक्त राष्ट्र सङ्घका मापदण्डमा अझै विकासोन्मुख चीनले विश्वको दोस्रो अर्थतन्त्रको दर्जा भने पाइसकेको छ ।

सन् १९९० देखि तीव्र आर्थिक विकासमा दौडेको ठूलो विकासोन्मुख मुलुकले सन् २००१ मा विश्व व्यापार सङ्गठनमा प्रवेश गरेपछि त झन् ठूलो आर्थिक धक्का दिएको छ । असीको दशकमा अन्तर्राष्ट्रिय व्यापार, वैदेशिक लगानी, खुला बजार नीति कार्यान्वयन गरेको चीन अहिले वस्तु व्यापारमा सबभन्दा ठूलो मुलुक बनिसकेको छ ।

निर्यातकर्तामा चीन अहिले विश्वकै पहिलो र आयातकर्तामा दोस्रो मुलुक(२०१८) हो । अमेरिकाका लागि चीन क्यानडा र मेक्सिकोपछि तेस्रो ठूलो निर्यात बजार र चीनका लागि अमेरिका ठूलो निर्यात बजार हो । चीनले विश्वकै आधा कङ्क्रिट र एक तिहाइ स्टिल प्रयोग गर्छ भने विश्वका आधा अग्ला भवन वार्षिक रुपले निर्माण गर्छ । कुनै जमानामा विश्वकै एकलकाँटेको रुपमा रहेको चीन खुला बजार रणनीतिपछि विश्वकै तीव्र वृद्धिको अर्थतन्त्र बनेको छ । र, सबैलाई आश्चर्यलाग्दो, अध्ययनलायक तथा प्रेरणादायक महाशक्तिकै दाँजामा पुगिसकेको छ ।

मानवताका लागि साझा भाग्य भन्ने नाराका साथ विश्वमा कहीँ पनि आफ्नो विचार र कार्यक्रम नलादी, कतै सैन्य वा अन्य हस्तक्षेप नगरी बहुपक्षीयताका पक्षमा हिँडेको चीनलाई आज भारत, अमेरिका, क्वाड, जी ७, नाटो, इयु आदिले साझा खतराका रुपमा लिएका छन् । कोरोना भाइरसको उत्पत्तिका विषयमा छानबिन माग गर्नेदेखि सिनजियाङ प्रान्तका उइगुर मुसलमानसँगको व्यवहार, हङकङमा मानवाधिकारको प्रश्न, ताइवानको स्वतन्त्रताको रक्षाका साथै समग्र मानवाधिकार र लोकतन्त्रका प्रश्नमा चीनसँग विमति राख्दै छुवाछुतको व्यवहार गरिरहेका छन् । अमेरिकाले चीनसँग प्रविधिको चोरी, जासुसीसम्मको आरोप लगाउँदै कठोर व्यापार नीतिमार्फत गलाउन खोजेको देखिन्छ । बेल्ट एण्ड रोड परियोजनामार्फत एशिया, युरोप, अफ्रिकासँग जोडिँदै गरेको चीनको शक्ति वृद्धिले विरोधीहरु आत्तिएका छन् ।

अन्तर्राष्ट्रिय प्रणाली भत्काएको आरोपसम्म चीनलाई लगाइएको छ । चीनमा बढीभन्दा बढी लगानी र आर्थिक कम्पनीहरुको उपस्थिति गराई प्रजातान्त्रीकरणका दिशामा उन्मुख गराउने तिनको भित्री चाहना चीनले राम्रोसँग बुझेको छ । समाजवादी, साम्यवादी विचारबाट विचलित नभई निरन्तर देशीय विकृतिको अन्त्य गर्दै अन्तर्राष्ट्रियतावादका साथ लागिरहेको छ ।

यही जुलाइ १ मा ७० वर्षदेखि चीनमा शासन गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्षको उत्सव मनाइयो । राष्ट्राध्यक्ष सी चिनफिङले चीनलाई कसैले होच्याउन नसक्ने दृढता व्यक्त गरे । कम्युनिष्ट पार्टीलाई नै सर्वेसर्वा ठान्ने चीनले पार्टीले सत्ता सम्हालेको सय वर्ष पुग्दासम्म २०४९ भित्र चीनलाई पूर्ण विकसित र समृद्ध राष्ट्र बनाउने योजना बनाइसकेको छ । एउटा छिमेकीको यस्तो प्रगतिमा नेपालले खुशी मनाउनु स्वाभाविक हो । कम्युनिष्ट पार्टीको कठोर मेहनत र नेताहरुको दृढ सङ्कल्पले चीन अहिलेको अवस्थामा आइपुगेको विदितै छ । छिमेकीको प्रगतिबाट नेपाल र नेपालीलाई लाभान्वित गराउन केही चुनिएका खासखास बिआरआई परियोजना प्रस्तुत गर्न नेपाली शासकीय नेतृत्वले आँट गर्नुपर्छ ।

जनताको समर्थनविना कुनै पनि पार्टी, नेता र देश अघि बढ्न सक्दैनन् । नेपालमा कम्युनिष्ट पार्टीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना, पुनःस्थापनामा दिएको योगदान अविष्मरणीय छ । तथापि, पार्टी र नेताकार्यकर्तालाई कठोर अनुशासनयुक्त बनाउन, सादगी जीवनका साथ प्रेरणादायी बन्न र उदाहरणीय शासनसत्ता चलाउन भने नजानेकै मान्नुपर्छ । युगमा एक पल्ट पाएको अवसर पनि अभिमान, कुण्ठा र हीनताबोधी भावनाले सदुपयोग गर्न नजान्दा नेकपाका घटकहरु अवसानको तल्लो स्थितिमा पुगेको टुलुटुलु हेरिरहनुपरेको छ ।

सरकारमा केही चमत्कार त हुन लागेको हो तर, त्यसले दिगो स्थिति हासिल गर्ने क्रममै मुकुटमा बसेको कलिले राजा परीक्षितलाई सर्वनाश निम्त्याए जस्तै नेतृत्वमा सर्वसत्तावाद र खुट्टा तान्ने दुवै प्रवृत्ति एकाएक आइलाग्यो र नेताकार्यकर्ताको घर न घाटको स्थितिमा पुगे । मुलुककै भविष्य अझ अन्धकारमा पुर्यायो । नेपाली समाजले दोस्रो पुस्ताका नेताहरुसँग पनि त्यति आशा गरेको छैन, जोसँग विवेक छैन । पुष्पलाल, मनमोहन अधिकारी, तुल्सीलाल, मदन भण्डारी जस्ता नेता जन्माउने पार्टीभित्र चमत्कृत व्यक्तिको आशा जनताले गरेका छन् । जसले, फेरि सबै कम्युनिष्ट पार्टीलाई एकगठ गराओस् र आगामी एक डेढ वर्षभित्र हुने आमनिर्वाचनबाट चमत्कृत नतिजा ल्याएर नेपाललाई समृद्धिको बाटोमा डोहोर्याओस् ।

सत्तास्वार्थका लागि छिमेकीलाई केवल रिझाउने धन्दा मात्र नगरेर दुवैबाट फाइदा लिने रणनीति नेपाली नेतृत्वले गरोस् भन्ने आशा पनि यस अवसरमा गर्नु अन्यथा नहोला ।

[email protected]

प्रतिक्रिया दिनुहोस्