Logo
Logo

गर्मी मौसममा कपालको हेरचाह


डा. रेखा थापा


गर्मी र वर्षा याममा कपालसम्बन्धी समस्या बढी हुन्छ । अल्ट्राभाइलेटयुक्त सूर्यको किरण, उच्च तापक्रम, अत्याधिक पसिना र धुलोमैलोका कारण कपाल जरैबाट कमजोर हुन्छ । जरैबाट कमजोर भएपछि झर्ने, टुक्रिने, हाँगा फाट्ने, चिपचिप हुने, सुख्खा भइ खस्रो हुने, रंग चाँडै खुइलिने आदि समस्या हुने गर्दछ ।

सरसफाई र हेरचाहमा ध्यान नपुग्दा चायाँ पर्ने, मसिना–मसिना खटिरा आउनेजस्ता समस्या पनि भोग्नुपर्छ । वातावरणीय प्रभाव, जीवन पद्दति, उमेर, खानपान, वंशाणुगत गुण, अस्वस्थ सौन्दर्य सामग्रीको प्रयोग आदि कारणले पनि कपालमा समस्याहरु आउने गर्दछ ।

स्वास्थ्यसम्बन्धी समस्याको समाधान उचित उपचार हो । उचित उपचार नहुँदा सकारात्मक परिणाम पाउन सकिन्न । कपालको समस्या समाधानका लागि अनेक विधि खोजिन्छ । तर, विज्ञसँग सल्लाह नगरी गरिने उपचारले सही परिणाम दिन सक्दैन । त्यसैले छाला परीक्षण गरेरमात्र कपालको उपचार गर्नु उपयुक्त हुन्छ । सबैभन्दा राम्रो त कपालमा समस्या आउनै नदिनु हो । जसका लागि विशेष हेरचाह आवश्यक हुन्छ ।

कसरी बचाउने कपाल ?

-सूर्यको अल्ट्राभाइलेट किरणबाट कपाललाई जोगाउन सक्ने सामग्री प्रयोग गर्नुपर्छ । जसका लागि यू.भी. प्रोटेक्सन गर्ने स्याम्पू र लिभ इन कन्डिसनर प्रयोग गर्नुपर्छ ।

-गर्मी महिनामा पौडी खेल्ने धेरैको सोख हुन्छ । तर, ‘स्विमिङ पूल’मा प्रयोग गरिने क्लोरिन तथा ब्रोमिनजस्ता केमिकलले छाला र कपाललाई ड्यामेज गर्छ । कपाललाई केमिकलबाट बचाउन पौडी खेल्नुअगाडि ‘लिभ इन कन्डिसनर वा सिरम’ लगाउनुपर्छ । कपाल ढाक्न ‘स्विमिङ क्याप’ लगाउनुपर्छ । समय समयमा कपाललाई ‘नोरिसिङ ट्रिटमेन्ट’ गराउनुपर्छ ।

– घरबाहिर निस्कँदा ह्याट र स्कार्फले कपाललाई ढाक्नुपर्छ । यसले सूर्यको प्रत्यक्ष सम्पर्क र प्रदुषणबाट कपाललाई बचाउँछ ।

– गर्मी मौसममा तुलनात्मक रुपमा कपाल धेरै पखाल्ने गरिन्छ । त्यसैले गर्मीमा अनिवार्य मोइस्चराइजिङ स्याम्पु र कण्डिसनर प्रयोग गर्नुपर्छ ।

-धेरै तातो आइरन रड र ड्रायरको प्रयोग गर्नु हुँदैन ।

-हाँगा फाटेपछि कपाल अस्वस्थ देखिन्छ । त्यसैले बेला–बेलामा कपाल ट्रिम गराउनुपर्छ ।

-गर्मी मौसममा कपाल पखाल्दा तातो पानी प्रयोग गर्नु हुँदैन ।

-दैनिक कपाल पखाल्दा कडा केमिकलयुक्त स्याम्पु प्रयोग गर्नु हुँदैन । माइल्ड स्याम्पु वा कुनै राम्रो ‘बेबी स्याम्पु’ प्रयोग गर्नु उचित हुन्छ ।

-पसिना र पानीले भिजेको बेला कपाललाई मसिनोभन्दा ठूलो दाँत भएको काइँयोले कोर्दा राम्रो हुन्छ ।

-हप्तामा एकपटक कोकोनट वा ओलिभ ओयलले कपाल मालिस गर्नुपर्छ । यसले स्काल्पमा रक्तसञ्चार वृद्धि गराइ स्वस्थ बनाउँछ ।

-गर्मी महिनामा अत्याधिक पसिना निस्कने भएकाले शरीर सुख्खा हुन्छ । यसले कपाललाई पनि असर गर्छ । सुख्खा फ्रिजी हुने हुँदा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

-मौसम अनुसारको फलफुल तथा जुस खानुपर्छ ।

-शरीरलाई हाइड्रेट राख्नुपर्छ ।

-स्वस्थ खानपिन र नियमित व्यायाम गर्नुपर्छ ।

कपाल स्याहारका लागि घरेलु सामग्री

काँक्रा र दही : काँक्रा मिक्सरमा पिसेर पेष्ट बनाउने । बराबर मात्रामा दही मिसाएर कपालको जरादेखि टुप्पोसम्म लगाउने । आधा घण्टापछि राम्रोसँग माइल्ड स्याम्पुले पखाल्ने । यसले कपाललाई जरैबाट बलियो बनाइ झर्ने, टुक्रिने जस्ता समस्या बन्द हुन्छ । काँक्रा र दहीको मिश्रणमा बनेको पेष्टले स्काल्पलाई शितलता प्रदान गर्छ ।

घिउकुमारी : घिउकुमारीमा पाइने भिटामिन ‘ए’, ‘सी’, ‘ई’ र भिटामिन बि–१२ ले कपाललाई स्वस्थ बनाउँछ । यसले प्राकृतिक रुपमा कन्डिसनरको काम गर्छ । कपालको फोलिकललाई मजबुत बनाउँछ र कपाल उमार्न मद्दत गर्छ । स्काल्पको अनावश्यक तेल हटाइ रक्तसञ्चार बढाउँछ । घिउकुमारीको जेल र दही मिसाएर पेस्ट बनाइ लगाउँदा कपाल स्वस्थ हुन्छ । घिउकुमारी काटेर सिधँै स्काल्पमा दल्न पनि सकिन्छ ।

खरबुजा : खरबुजा कपालका लागि फाइदाजनक हुन्छ । प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइने खरबुजाले कोलाजन बनाउन, कपाल उमार्न र बढ्न मद्दत गर्छ । जसका लागि खरबुजा काटेर दाना छुट्याइ पेष्ट बनाएर कपालमा लगाउनुपर्छ । लगाएको २० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

जैतुन र एरोमा ओयल : जैतुनको तेलमा एरोमा इसेन्सियल ओयल पेपर मन्टिको केही थोपा मिसाएर मालिस गर्दा रक्तसञ्चार बढाउनुका साथै नयाँ कपाल उमार्न पनि मद्दत गर्छ ।

एभोकाडो र अण्डा : एभोकाडोको प्याक कपालका लागि फाइदाजनक हुन्छ । यसमा पाइने वायोटिनले कपाललाई स्वस्थ र मजबुत बनाउँछ । जसका लागि पाकेको एभोकाडोलाई मसिनो गरि पिस्ने र अण्डा मिसाई कपालमा लगाउने । आधा घण्टापछि हल्का स्याम्पुले पखाल्ने ।

वातावरणीय प्रभाव, वंशाणुगत गुण र प्रयोग गरिने केमिकलहरुका कारण कपालमा समस्या आउने गर्दछ । वातावरणीय प्रभावबाट जोगाउनसके कपालमा कम समस्या हुन्छ । केमिकलहरुको प्रयोगमा ध्यान पुर्याउने हो भने पनि समस्या कम हुन्छ । समस्या नै भए पनि घरेलु खाद्य सामग्रीको प्रयोगमा उपचार गर्न सकिन्छ । मुख्यतः समस्या आउन नदिनु नै उत्तम उपाय हो । जसका लागि कपालको हेरचाहमा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्