Logo
Logo

प्रहरी महानिरीक्षकको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएका छन् । उनले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न आग्रह गरेका छन् ।

सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरूप प्रहरी कार्यालयका प्रमुखहरूले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उनको जोड थियो ।

प्रहरी प्रधान कार्यालयमार्फत भर्चुलरूपमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक थापाले आर्थिक वर्ष २०७८/०७९ को लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फ्रेन्समार्फत् सातै प्रदेशका प्रहरी प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीले पेशागत, व्यावसायिक, नैतिक आचरण र व्यवहारलाई आधार मानेर कार्यसम्पादनमा जुट्न निर्देशन दिए । वार्षिक कार्यसम्पादन सम्झौता अनुरूप गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष अपराध रोकथाममा उल्लेखनीय प्रगति हासिल भएको चर्चा गरे ।

गत आर्थिक वर्षको अपराध तथ्याङ्क विश्लेषण गरी सोही अनुरूप आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जघन्य अपराधप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्