Logo
Logo

राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । बुधबार बिहान लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको स्रोतको भनाई छ ।

यसबीच पोखरेलले संसदीय दलको बैठक बोलाएका छन् । उनले राजीनामा दिने वा अविश्वासको सामना गर्ने भन्नेबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएाक हुन् ।

आर्थिक मिमिला तथा योजना मन्त्री बैजनाथ चौधरीका अनुसार अहिले लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसिरहेको छ । यसपछि सत्तारूढ दल नेकपा एमालेको संसदीय बैठक बस्ने छ ।

आफूविरूद्धको अविश्वासको प्रस्ताव पास हुने नै देखिएकाले पोखरेलले राजिनामा दिने संभावना बढेको स्रोतको भनाई छ ।

गत साउन २१ मा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका थिए । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका तीन सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश नदिएसँगै मुख्यमन्त्री पोखरेलको सरकार संकटमा परेको हो ।

पोखरेलविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । उक्त प्रस्तावमाथि छलफल गर्न आज प्रदेश सभा बैठक बस्न लागेको हो । पोखरेलको सरकारमा मन्त्रीसमेत रहेका जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले तत्काल सदर गरिदिएपछि पोखरेल अल्पमत पर्ने निश्चित छ ।

लुम्बिनीमा सत्तारूढ नेकपा एमालेसँग ३८ सांसद छन्। बहुमतका लागि ४१ जना सांसद चाहिन्छन्। विपक्षी गठबन्धनसँग ४२ सांसद छन् तीमध्ये एक जना सभामुख हुन्। नेपाली कांग्रेस १९, माओवादी केन्द्र १९, जसपा ३ र जनमोर्चाका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्