Logo
Logo

यस्तो छ भीम आचार्यको एमाले एकताका लागि ८ बुँदे अपील


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताको कुरा गर्नेमाथि अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षका नेता आचार्यले त्यस्ता बदनामी गराउने प्रयासबाट हतोत्साहित नहुने पनि बताए ।

एमाले एकताको पक्षमा सामाजिक सञ्जाल फेसबुकमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार भएको बताएका छन् । छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने उनको भनाइ छ ।

नेता आचार्यले एमालेका दुवै पक्षमा एकताविरोधी तत्व रहेको बताउँदै देशी विदेशी प्रतिक्रियावादीहरु एमाले फुटाएर सत्तामा जान लालायित शक्तिहरू एमाले फुटाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।

यस्ता छन् ८ बुँदा


१, एकातिर गत फागुन २८ गते बाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरु कतिपय बोली, बचन, काम, ब्यवहार र निर्णयहरुमा हालसम्म पनि प्रकट भैरहेका छन् ।

२, अर्कोतिर त्यो प्रवृत्तिको बिरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, शर्त, माग र गतिविधिहरु विभाजनकै पक्षमा प्रकट भैरहेका हुन् कि भन्ने आशंका बढेर गएको छ ।

३, पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो ।

४, दुनियाँभरकै प्रतिकृयावादी शक्तिहरु, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्वहरू र राम्रो काम गरेर होइन, अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिष्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ ।

५, नेकपा एमालेका देश विदेशमा भएका लाखौँ कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरु नेपालको बामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरु पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन् र विडम्बना उनीहरु नेतृत्वविहिन पनि छन् ।

६, गत असार २७ गते भएको १० बँुदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो । यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरु हल गर्दै जान सकिन्छ । विना जालझेल, छलछाम र हिच्किचाहट रुपमा यसलाई लागू गर्नु पर्दछ ।

७, हाल पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयासहरु भैरहेका छन् । त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु हुँदैन ।

८, टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्