Logo
Logo

सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती मनाइँदै


रासस




काठमाडौं । संविधानसभाबाट संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । उनको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको थियो ।

विद्यार्थीकालदेखि नै कोइराला राजनीतिमा क्रियाशील थिए । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं २०१७ पुस १ गतेको राजनीतिक घटनापछि प्रवासमा रहँदा कोइराला नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

विसं २०२५ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइराला सुन्दरीजल बन्दीगृहबाट छुटेर उपचारका लागि भारत जानुभएपछि बिपीको निर्देशनमा प्रजातन्त्र पुनःस्थापनाका लागि उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री हुँदै कोइराला कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । विसं २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा उनकै नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको थियो । सो निर्वाचनपछि देशको नेतृत्व गर्नुभएका कोइराला सादगी र सन्त नेताका रुपमा नेपाली राजनीतिमा स्थापित थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

जन्मजयन्तीका अवसरमा उहाँको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयनका विषयमा संविधानविद् एवं कानूनका जानकारबीच आज बेलुकी ‘जुम प्रविधि’का माध्यमबाट छलफल आयोजना गर्न लागिएको सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले रासलाई जानकारी दिए ।

जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशिल थिए ।

यो संविधानको सफल कार्यान्वयन भए र लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुक आज कोरोनाको चपेटामा परेको छ । आम नागरिकलाई यो महामारीबाट जोगाउनका लागि प्रभावकारीरूपले अघि बढ्न फाउन्डेसनले सरकारसँग आग्रह गरेको छ ।

यो महासंकटबाट पार पाउने काम सरकारको एकल पहलबाट मात्र सम्भव नहुने भएकाले आम नागरिक पनि सचेत भई स्वास्थ्य मापदण्डअनुसार आफ्नो र परिवारको ख्याल राख्न फाउन्डेसनले सबैमा आग्रह गरेको छ । यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संघ एवं शुभेच्छुक संस्थाले पनि विभिन्न रचनात्मक कार्यक्रम गरी कोइरालाको जन्मजयन्ती मनाउँदैछन् ।

कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो । शालिन व्यक्तित्वका धनी कोइराला अविवाहित नेता थिए । उनको ८१ औँ जन्मयन्तीका अवसरमा गत वर्षदेखि फाउन्डेसनले समसामयिक विषयमा अन्वेषण यात्रा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्