Logo
Logo

तपाइँको माक्स खोई ? : प्रजिअ नै मास्क बाँड्न सडकमा


रासस



सप्तरी । निषेधाज्ञा खुकुलो भएपछि जिल्लाका बजारमा भीडभाड बढेको छ । यहाँका मुख्य बजार बिहान ६ बजेदेखि बेलुकीको ९ बजेसम्म खुल्न थालेका छन् । बजार खुलेसँगै पुनः कोभिड–१९ को जोखिम बढेको छ । कार्यालय, बजार खुला गर्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेध आदेश खुकुलो गरे पनि सामाजिक दूरी कायम गर्न र मास्क प्रयोग गर्न भनिएको छ ।

मास्कको प्रयोग र भौतिक दूरी कायम गरिएको देखिएको छैन् । बजारका बिभिन्न पसलमा भीडभाड तरिकाले व्यापार भइरहेका छन् । व्यवसायी तथा सेवाग्राहीले सामाजिक दूरीको ख्याल गर्न छाडेका छन् । सवारी चालक, यात्री, व्यापारी, ग्राहकदेखि कार्यालयका कर्मचारीलेसमेत मास्क लगाउन छाड्दै गएका छन् ।

यसै बेला राजविराजलगायत मुख्य बजार क्षेत्रमा सचेतना फैलाउँदै नेपाल मास्क अभियान शुरु भएको छ । सरकारले कोरोना सङ्क्रमणको रोकथामका लागि यसको महत्व तथा सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले शुरुआत गरेको अभियानमा जिल्लाका सरोकारवाला सरिक भएका हुन थालेका छन् ।

अभियानअन्र्तगत राजविराजमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला ‘तपाईँको मास्क खोइ ?’ भन्दै सडकमा खटिए । उनीहरूले सडकमै आएर नागरिकलाई मास्क लगाउन आग्रह गरे । सामुदायिक सेवा केन्द्रका समन्वयमा सञ्चालित अभियानमा प्रजिअ आचार्य स्वयम्ले सवारीसाधन रोक्दै चालक र यात्रीलाई मास्क लगाउन दिए ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र राजविराजलगायतका स्थानमा सर्वसाधारणलगायतलाई मास्क वितरण गर्दै जनचेतना विस्तार गर्न शुरु गरिएको छ । अभियानमा जिप्रका, प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, गैरसरकारी संस्था, अधिकारकर्मी, पत्रकार र सामाजिक संस्थाको सहभागिता थपिँदै गएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

कोरोना सङ्क्रमणको खतरा कायमै रहेको बेला नागरिकले लापरवाही गर्न थालेपछि सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले अभियान पुनः सञ्चालन गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन छाडेपछि ‘तपाईंको मास्क खोइ’, ‘सामाजिक दूरी कायम गरौँ’ भन्ने अभियानलाई पुनः शुरु गरिएको केन्द्रका सचिव सञ्जय शर्माले जानकारी दिए ।

केन्द्रको आयोजना र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सञ्चालित अभियानमा इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल, नागरिक समाज, जेष्ठ नागरिक महासङ्घ, उद्योग वाणिज्य सङ्घ, जेसिज, सशस्त्र प्रहरी बल, नेपाली सेनाको टोलीले बजार परिक्रमा गर्दै निःशुल्क मास्क वितरण गरेको छ । मास्क नलगाउनेलाई मास्क वितरण गर्नुको साथै सचेत बनाएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए ।

प्रजिअ आचार्यले नागरिकलाई स्वास्थ्यप्रति सचेत हुन र समाजप्रति जवाफदेही बन्न आग्रह गरे । इन्सेक प्रतिनिधि मनोहर पोखरेलले कोरोना नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औँल्याए ।

महामारी नियन्त्रण र रोकथामका लागि मास्क लगाउनु र भौतिक दूरी कायम राख्नु नै पहिलो आवश्यकता भएको बुझिदिन प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले आग्रह गरे ।

अभियानका क्रममा मास्क गोजीमा राखेर हिँड्ने, चिउडोमा झुण्ड्याएर हिँड्ने, जानीजानी प्रयोग नगर्ने, प्रहरीलाई देखेपछि हत्तपत्त गोजीबाट निकालेर लगाउने र घरमा छुट्यो, हरायो भन्ने प्रशस्त भेटिए । प्रहरीले पहिलो पटक सचेत गराएको र दोस्रो पटक पुनः त्यसरी नै नलगाएको भेटाए जरिवाना गर्ने समेत चेतावनी दिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पुनः बढन थालेकोले अनिवार्य मास्क लगाउनसचेत गराउने आवश्यकता देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्