आफ्नो मृत्यु दर्ता खारेज गरेर सुभाषले लिए नागरिकता « Drishti News – Nepalese News Portal
Logo

आफ्नो मृत्यु दर्ता खारेज गरेर सुभाषले लिए नागरिकता


दृष्टि संवाददाता


मोरङ । यहाँ एक व्यक्तिले आफ्नो मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता लिएका छन् । आफू जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी पाएका हुन् ।

२०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा मृत्यु भयो भन्दै शव आएपछि उनका आफन्तले अन्त्येष्टि गरेका थिए । त्यसपछि २०७२ साउन ६ गते मृत्यु दर्ता गरेका थिए । तर, दुर्घटनाको एक वर्षपछि उनी जीवितै घर फर्किए ।

तामाङको बिहीबार मृत्यु दर्ता खारेज गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी प्रदान गरेका हुन् । राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार मृत्यु दर्ता खारेज गरी नागरिकताको प्रतिलिपी दिइएको प्रजिअ निरौलाले बताए ।

वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाष तामाङ २०७२ साल असार २५ गते दुर्घटनामा परेका थिए । दुर्घटनाको २८ दिनमा सुभाषको भनेर शव नेपाल पठाइएको थियो । तर, पछि उक्त शव सुभाषको नभएर बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको पुष्टि भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचारपछि २०७३ सालमा नेपाल फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्