Logo
Logo

शिव संगीतको मौलिक संस्कृति झल्काउँने तीज गीत



काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान साँस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा मौलिक तीज गीत ‘नानी मै’ले अहिले चर्चा पाइरहेको छ । यहि साउन १७ गतेमात्र सार्वजनिक भएको उक्त तीज विशेष गीत मौलिक भएकै कारण चर्चामा आएको हो ।

लोक साँगीतिक क्षेत्रमा पछिल्लो समय व्यस्त रहेका शिव संगीतको संगीत र वरिष्ठ सर्जक रमेश विजीले शब्द संयोजन गरेको गीत ‘नानी मै’ गायिका शान्तिश्री परियारले गाएका छन् ।

हाइलाइट्स् नेपालमार्फत् सार्वजनिक भएको ‘नानी मै’मा दिपाशा विसी, करिश्मा ढकाल र आरुशी मगरको नृत्य रहेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ८ घर भई संघीय राजधानी काठमाडौँमा कर्मथलो बनाएका शिवले पछिल्लो समय विभिन्न मौलिक लोक गीतलाई प्राथमिकताको साथ बजारमा ल्याउने गरेका छन् ।

चर्चित गायक शिवले धेरै गीतमा संगीत संयोजनको कौशल प्रदर्शन गरेका छन् । वि. सं. २०५५ सालको राष्ट्रव्यापी बाल गीत प्रतियोगीतामा सहभागी भइ तृतिय स्थान हासिल गरेपछि औपचारिक गीत संगीतको यात्रा सुरु गरेका शिवले एक सयभन्दा बढी गीतमा स्वर तथा संगीत भरेका छन् । उनले व्यवसायिक मात्र नभई चेतनामूलक गीतमा समेत स्वर र संगीत भरेका छन् ।

नाँचिदेउ राम्ररी, आँखामा जुध्योे, वनमा चरी, घर कहाँ हो नानिको, हातमा बाला सोल्टिना, घन्काइदेऊ मादलु, धारा पँधेरो, तिम्रो नजरमै जादुलगायतका गीतहरु स्वर तथा संगीतबाट सजिएका छन् ।

धेरैलाई नौलो लाग्नसक्छ उनको पारिवारिक वातावरण नै संगीतमय छ । शिव संगीत वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीको छोरा हुन् । उनले सुपरहिट नेपाली चलचित्रहरु बन्धकी, बाटुली, गोर्खा पल्टनलगायतका चलचित्रमा नृत्य निर्देशन गरेका छन् ।

शिवले आफ्नो बुवाकै प्रेरणाबाट साँगीतिक यात्रामा लागेको बताउने गरेका छन् । विद्यालयस्तरका जिल्ला, क्षेत्रीय तथा रष्ट्रियस्तरका प्रतियोगीतामा थुप्रै पटक उत्कृष्ट स्थान हासिल गरेपछि साँगीतिक क्षेत्रसँग शिवको साइनो अझै प्रगाढ र बलियो बनेको हो ।

विभिन्न प्रतियोगीता तथा मेला महोत्सव सहभागी भई पटक पटक आफनो प्रस्तुति दिने गरे पनि व्यवसायिक रुपमा एल्वम निकाल्ने र गीतहरु बजारमा ल्याउने काम २०६७ साल देखी सुरु भएको शिवको भनाइ छ ।

हाल विभिन्न नेपाली चाडपर्व, विवाह, उत्सवलगायतमा आफ्नो संगीत तथा स्वरमा सजिएका गीतहरु बजाइदा आफूलाई छुट्टै खालको आनन्दको अनुभूति हुने गरेको शिव बताउँछन् ।

शिवले २०६१ सालमा राष्ट्रव्यापी लोक गीत प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्नुभएको थियो भने राष्ट्रिय इपिक म्यजिक अवार्ड २०७५ मा उत्कृष्ट लोक गायक, पब्लिक च्वाइस तथा स्टार इन्टरनेशनल अवार्ड २०१९ मा उत्कृष्ट डोयट लोक गायक जुरीको तर्फबाट अवार्ड हात पर्नुभएको थियो । जुन कतारमा आयोजना भएको थियो ।

यसैगरी वातावरण पर्यावरण सम्बन्धीको गीतमा सहभागी हुँदा राष्ट्रपतिको उपस्थितीमा गिनिज अवार्डसमेत उनले पाएका छन् । शिवले राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित सेवा संघ, तत्कालिन जिज्ला विकास समिती सुर्खेत, भीमबहादुर कार्की गायन पुरस्कार, सम्मानपत्र तथा थुप्रै सामाजिक र साँस्कृतिक संघ सस्थाबाट प्रशंसापत्र प्राप्त गरेका छन् ।

शिवले नेपाली कला र संस्कृतीको खोज अनुसन्धान र त्यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान गराउने आफ्नो भावी योजना रहेको बताए । सधैँ मौलिकता बोकेको गीत संगीत लाई बढी प्राथमिकता दिने र आफनो कम्पनी कल्चर नेपाल नेटवर्कलाई देशैभरी सञ्जल निर्माण गरी लोप हुन लागेका बाजा, गीत, भेषभुषालाई संरक्षण सम्वद्धन र प्रर्वद्धन गर्न लागिपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्