Logo
Logo

नयाँ दल गठनबारे नेपाल पक्ष आन्तरिक छलफलमा


8.1k
Shares

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक तयारीमा जुटेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रुपमा अगाडि बढेको निष्कर्ष सहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेसँगै आन्तरिक तयारीमा जुटेको हो ।

विधान संशोधन, सदस्यता नविकरण, संगठन निर्माण सहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अगाडी बढेको नेपाल पक्षको विश्लेषण छ ।

नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओली पक्ष एकलौटी रुपमा अगाडी बढेपछि नयाँ पार्टी गठनको विकल्प नभएको बताए । ‘हाम्रोे पहिलो प्राथमिकता पार्टी एकता नै हो । तर, ओली पक्षमा पार्टी कब्जा गर्ने रणनीति रहेकाले एकताको लागि सबै ढोका बन्द गर्न खोजिएको छ ।’ उनले भने ।

ओली पक्षबाट पार्टीलाई कब्जा गरेर मनोमानी रूपमा विधान संशोधन गर्दै सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने प्रयास भएको उनले बताए । तर, पनि आफूहरु अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहेको र पहल जारी राख्ने बताए ।

नयाँ दल गठन गर्नुभन्दा अघि नेताहरुसंग छुट्टाछुट्टै छलफल भईरहेको स्रोतको दावी छ । वरिष्ठ नेता नेपालले आफू निकटका नेताहरुसँंग छलफल गर्दै ओलीको कार्यशैली नसुधे्रकाले नयाँ दल गठन गरेर अगाडि बढनुपर्ने बिषयमा छलफल गरिरहेको एमाले स्रोतको दावी छ ।

नेपाल निकटका अर्का नेता रचना खड्काले कार्यदलले गरेको १० बुँदे प्रस्तावको उल्लंघन गर्ने काम ओली पक्षबाट भएको आरोप लगाईन् । पार्टी एकताको आधारविन्दु १० बुँदे प्रस्ताव रहेको बताउँदै उनले थप छलफल गर्दै दुई नेताको बीचमा सहमति हुनुपर्ने बताईन् ।

‘१० बुँदे प्रस्तावलाई रद्धिको टोक्रीमा फाल्ने काम अध्यक्ष ओली पक्षबाटै भयो । पार्टी एकता गर्ने इच्छा, चाहना नै अध्यक्षको भएन्’ खडकाले भनिन्, ‘एकपक्षी रुपमा अगाडी बढदै एकताको ढोका बन्द गर्ने काम भएपछि नयाँ बिकल्पमा हामी जान बाध्य भएका छौं ।’

नेपाल पक्षबाट पार्टीको सबै आधिकारिक पत्रमा दुवै नेताको संयुक्त हस्ताक्षर हुनुपर्ने अडान राख्दै आएको छ । एकअर्कालाई विश्वास गर्ने वातावरण नभएकाले दुई नेताको संयुक्त हस्ताक्षर पछि नै आधिकारिता प्रमाणित हुनेगरी सहमति पश्चात पार्टी एकताबद्ध हुने बुझाई नेपाल पक्षको छ ।

तर, ओलीले नेपाल पक्षको प्रस्ताव अस्वीकार गर्दै आएको छ । दुई नेताको संयुक्त हस्ताक्षर वा दुई अध्यक्षको व्यवस्था आवश्यक नरहेको ओली पक्षका नेताको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्