Logo
Logo
राउटे समुदाय समस्यामा

बालबालिकामा कुपोषण, युवामा मदिराको लत


जितेन्द्र थापा


सुर्खेत । असार अन्तिम साता राउटे समूदायमा सात महिने बालिका मयो शाहीको निधन भयो । त्यसको एक साता नबित्दै समुदायका ३४ वर्षीय दलबहादुर शाहीले पनि प्राण त्यागे । युवाको मृत्युपछि राउटे समुदायले बसाई सर्ने तरखर गर्यो । केही दिन अघि पुनः २१ वर्षीय मानसिंह शाहीको मृत्यु भयो । एक महिनामा राउटे समुदायले भोगेको यो तेस्रो बज्रपात हो ।

बच्चाको मृत्यु कुपोषण र अन्य दुई जनाको मृत्यु भने मृगौलामा समस्या आएपछि भएको लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको निष्कर्ष छ । प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काका अनुसार राउटे समुदायमा बालबालिकाहरू कुपोषण र स्याहारका कमी र युवाहरू मदिरा सेवनका कारण ज्यान जाने गरेको छ ।

मृत्यु भएसँगै समुदाय बसाई सर्ने गर्दछन् । सोही क्रममा अहिले उनीहरू सुर्खेतको सीमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसोबास गरिरहेका छन् । मृत्यु हुनुको कारण भनेकै आधुनिकता भएको धेरैको बुझाई छ ।

विषादी रक्सी नै मृत्युको कारण
दुई वर्षअघि १ सय ५६ जनाको संख्यामा रहेका राउटे समुदायको संख्या अहिले १ सय ४२ जना छ । राउटे समुदायमा सहजकर्ता भएर काम गरेर लालबहादुर खत्री भन्छन्, ‘पहिले सबै आफ्नो काममा व्यस्त हुन्थे, उनीहरुको संस्कृति पनि बचेको थियो, अहिले सबै जना बिहानदेखि साँझसम्मै मदिरामा लिप्त हुन्छन् । ’
राउटे मृत्युको मुख्य कारण जाँडरक्सी हो । राउटेले धेरै जाँडरक्सी गर्ने भएकाले पनि व्यापारीले युरिया मल, लागु औषध हालेर रक्सी उत्पादन गर्ने हुँदा विषादीका कारण पनि ज्यान जाने गरेको प्रतिष्ठानकी अध्यक्ष खड्काको बुझाई छ ।

खड्काका अनुसार राउटेमा चेतनाको कमी हुनु र थोरै मदिरा सेवन गर्नाले धेरै लाग्ने र फेरी फेरी आउने भएकाले व्यापारीले राउटेको सोझोपनाको फाइदा उठाएको आरोप लगाइन् । उनले भनिन्,‘यसरी राउटेलाई विषादीयुक्त जाँड रक्सि दिनेलाइ सरकारले छानविन गरेर कार्वाही गर्नुपर्छ ।’

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा स्वास्थ्य जाँच
एक महिनाभित्रै तीन जनाको मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बस्तीमै पुगेर उनीहरूको स्वास्थ्य जाँच गरेको छ । राउटे समुदायका ५० जनाभन्दा बढीको स्वास्थ्यजाँच गरिएको जनस्वास्थ्य प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए ।

वाग्लेका अनुसार सबैको जाँच गर्न खोज्दा धेरै आएनन्, धेरै बालबालिकाहरू कुपोषित छन् । राउटे समुदायमा बढी घाउचोट लाग्ने गरेको पाइएको छ । यसरी बिरामी पर्नुमा वस्तीमा शुद्ध खानेपानी नहुनु, मदिराको लत पनि धेरैमा छ ।

आधुनिकताको शिकारमा राउटे
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समूदाय आधुनिकतामा मोडिएसँगै संकटमा पर्न थालेका छन । समाजशास्त्रीका अनुसार राउटे भनेको जंगलमा बसेर जीविकोपार्जन गर्ने समुदाय हो । जंगलमा पाइने कन्दमुल खाने, प्रकृतिमा रमाउने, बिरामी भएपनि जडिबुटीबाट निको भइहाल्ने समुदाय हो । तर, मानव वस्तीको विकास बढ्दै जानु र जंगल पनि सखाप हुन थालेपछि उनीहरू समाजमा देखिन थालेका छन् । समाजसँग घुलमिल हुन थाल्दा उनीहरूको समुदाय नै संकटमा परेको छ । आधुनिकता भित्रँदा राउटे पहिचान खोज्दै अघि बढ्न थालेको पनि कतिपयको बुझाई छ ।

परम्परागत पेसा संकटमा
जंगलमा आधाजिउ ढाकेर फिरन्ते जिवन विताउदै आएको राउटे आधुनिकतामा मोडिएसँगै उनीहरुको परम्परागत पेसासमेत सङ्कटमा पर्न थालेको छ । राउटे मुखिया महिनबहादुर शाहीका अनुसार पहिले ज्वरो, निमोनिया, आउँ, हैजा, पखाला, केही रोग लाग्दैन थियो । पछिल्ला समय उनीहरूको स्वास्थ्य निकै कमजोर बनेको छ । रोगले कतिपयको त मृत्यु भइरहेकाे छ ।

राउटे समूदायमा काम गर्ने नाममा विभिन्न थरीका संघ संस्थाहरु भित्रिएका छन् । जसले समुदायमाथि नै निरन्तर प्रहार गर्न थालेको बुझाई मुखियाको छ । पैसा छोए पाप लाग्छ भन्ने सोच भएको यो समुदायमा अहिले पैसाको समेत लोभ बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्