Logo
Logo

दिवा खानामा करोडौँ निकासा, बन्द रहेको उद्योगमा प्रशासनिक खर्च




काठमाडौं । कोभिड महामारीका कारण विद्यालयहरु बन्द भए । अझै राम्ररी खुलेका छैनन् । तर, यसरी विद्यालय बन्द रहेको बेलामा समेत विद्यार्थी दिवा खाजाका नाममा करोडौँ रुपैयाँ निकासा भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औँ प्रतिवेदन लकडाउन भएर विद्यालय बन्द भएको बेलामा पनि पालिकाहरुले विद्यार्थीको दिवा खाजाका नाममा २१ करोड ४२ लाख रुपैयाँ लगेका पाइएको हो ।

२०७७ सालको चैतदेखि लकडाउन सुरु भएपछि असारसम्म धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, रौटहतको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ लगेका छन् ।

यस्तै, लकडाउनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् । १३ वटा विभिन्न गाउँपालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि भनेर लगेका छन् ।

यस्तै, दिवा खाजा रकम विद्यालयलाई निकासा गर्दा अभिभावकलाई नगद दिने कुनै नियम कानुन नरहेपनि परोहा नगरपालिका रौतहटले दिवा खाजा वापतको रकम अभिभावकलाई बाँडेको र १ करोड १७ लाख रुपैयाँ निकासा अनियमित देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । विद्यालय बन्द भएको बेलामा खाजाको लागि लगेको पैसा असुल गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

यस्तै, वर्षौ अघि बन्द भएको दुई वटा उद्योगमा सरकारले करोडौँ रुपैयाँ प्रशासनिक लगानी गरेको छ । प्रतिवेदनले बन्द भइसकेर शून्य प्रतिफल दिने उद्योगमा करोडौँ लगानी भएको देखाएको छ ।

सरकारले हाल सञ्चालनमा नरहेको र वर्षौँ पहिले बन्द भइसकेको नेपाल ओरियण्ट एन्ड म्याग्नेसाइट उद्योगमा ८० लाख प्रशासनिक लगानी गरेको छ । यसैगरी, बन्द भइसकेको अर्को सरकारी उद्योग गोरखकाली रबर उद्योगमा ३४ करोड रुपैयाँ लगानी गरेको पाइएको हो । यी दुई वटा उद्योगमा गरेर सरकारले ३४ करोड ८० लाख रुपैयाँ लगानी गरेको हो । यसरी शून्य प्रतिफल दिने उद्योगमा बिना योजना लगानी गर्दा सरकारको सञ्चित कोषमा व्ययभार परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्