Logo
Logo

ओलीको दम्भ र घमण्ड ढल्नेछ : मेटमणि चौधरी



काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले केपी शर्मा ओलीको दम्भ दम्भ र घमण्ड जसरी भएपनि ढालेरै छाड्ने बताएका छन् ।

आफूहरुले न्यायका लागि राणा शासन र पंचायती तानाशाही ढालेको भन्दै ओलीको दम्भ र घमण्ड पनि ढालेरै छाड्ने बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘राणा शासन ढल्यो, पंचायती तानाशाही ढालियो, ओलीको दम्भ र घमण्ड नढली उपाय छैन ।’

महान लक्ष्य लिनेले मात्रै गोली, बम र बारूदको सामना गर्न फ्रन्टलाइनमा उभिने हिम्मत राख्ने पनि उनले बतएका छन् । उनले भनेका छन्, ‘जसले महान लक्ष्य लिएको हुन्छ । उसैले मात्रै गोली, बम र बारूदको सामना गर्न फ्रन्टलाइनमा उभिने हिम्मत राख्छ । जुनियर होस् या सिनियर ! लडाइँमा जसले युद्धको मोर्चा सम्हाल्छ उही बन्छ नेता र उसैले गर्छ नेतृत्व ।’

एमाले विभाजलाई संकेत गर्दै उनले भनेका छन्- ‘को कता लाग्यो भन्दा पनि मुख्य कुरा हो न्याय र अन्यायको ! न्याय आज सानो र सीमित घेरामा कैदी होला ! तर अन्तिममा न्यायकै जित हुन्छ । न्यायकै फराकिलो दायरा हुन्छ । जहाँ न त घेरा हुन्छ न त कुनै सीमा ! देखिन्छ त केवल क्षितिज ! देखिन्छ त केवल क्षितिज !

उनले सफलताको शिखरमा कम्युनिस्टको लाल झण्डा फहराएरै छाड्ने प्रतिबद्धता पनि गरेका छन् । ‘नेपाली नव जवानहरू, दृढताका साथ एकीकृत समाजबादको अभियानमा लागिरहौं, जुटिरहौं’, उनले लेखेका छन्- ‘पक्कै पनि सफलताको शिखरमा कम्युनिस्टको लाल झण्डा फहराउने छौं । अनि मात्रै करोडौं नेपाली जनताका वर्षौदेखिका सपना पूरा हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्