Logo
Logo

क्रियाशील सदस्यताको त्रुटी सच्याउन ‘अल्टिमेटम’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गर्न यही साेमबार ‘अल्टिमेटम’ दिएका छन् ।

आज (शनिबार) काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले क्रियाशील सदस्यतामा अनियमितता र ढाकछोप भएको भन्दै ७ गतेभित्र क्रियाशील सदस्यता सार्वजनिक नगरे ८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । उनीहरुले क्रियाशील सदस्यताको त्रुटी सच्याउन माग गरेका छन् । उनीहरूले पार्टी संस्थापनले क्रियाशीलमा अनियमितता गरेको गम्भीर आरोप समेत लगाएका छन् ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ ।

‘नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शितासम्बन्धी विषयलाई लिएर देशभरिका लाखौं सदस्य साथीहरूको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं’, कांग्रेस जिल्ला सभापतिहरूका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘वडा तहबाट निर्णय भई आएका नामहरू हटाउने, ठाडै केन्द्रबाट जथाभावी नामहरू थप्ने र झिक्ने तथा शतप्रतिशत भन्दा बढी नामहरू इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं । यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन् पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक व्यक्तिको स्वार्थसिद्धि गर्न, लामो समयदेखि पार्टीमा रगत–पसिना भिजाएका निष्ठावान् नेता–कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौँ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउनेजस्ता अशोभनीय कामहरू भइरहेबाट हामी स्तब्ध भएका छौं ।’

विज्ञप्तिमा ७७ वटै जिल्लाका सभापतिको एउटै प्रक्रियाबाट निर्वाचन हुने विधानको प्रष्ट व्यवस्थाविपरीत निर्वाचन निर्देशिका जारी गरिएको भन्दै त्यसले विधिमा विश्वास गर्नेहरूलाई चिन्तित बनाएको उल्लेख छ । जिल्ला सभापतिहरूले ७ गतेभित्र सदस्यता सार्वजनिक नभए ८ गतेबाट पार्टी कार्यालयमै धर्ना तथा आन्दोलन थाल्ने चेतावी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्