Logo
Logo

पत्रकार गिरीको रिहाइ माग गर्दै महासंघद्वारा आन्दोलन घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ बैशाख । समाचार लेखेकै आधारमा पत्रकारलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ ।
पोखराको ‘ताण्डव साप्ताहिक’ र ‘ताण्डप न्युज डटकम’का सम्पादक अर्जुन गिरीको रिहाइको माग गर्दै महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालय घेराउ गर्नेदेखि गृह र सञ्चार मन्त्रालयमा विरोध पत्र बुझाउनेसम्मका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यस्तै, सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी गर्न समेत महासंघले माग गरेको छ ।
बिहिबार देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमा महासंघको शाखाबाट ९ः३० देखि १०ः३० सम्म एक घण्टा पत्रकारहरूले धर्ना दिने र बुधबार बस्ने केन्द्रीय समिति बैठकले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव विष्टले जनाएका छन् ।
पोखराका विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको छ भने काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपेको छ ।
यस्तै, पत्रकार गिरीको पक्राउको विरोधमा बुधबार पोखराबाट प्रकाशित पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका छन् । उनीहरुले पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखेका छन् ।
प्रेस स्वतन्त्रताका लागि सांकेतिक विरोधमा ऐक्यवद्धता जनाइदिनसमेत पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्