Logo
Logo

कञ्चनजङ्गामा सिकार पर्यटन अध्ययन



काठमाडौं । कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार पर्यटन सम्भावनाबारे वैज्ञानिक अध्ययन गरिने भएको छ । सिकार पर्यटनलाई विश्वमा निकै लोकप्रिय र महँगो मानिन्छ ।

सिकार पर्यटन प्रवद्र्धन गर्न कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार गर्न सकिने अवस्था छ वा छैन भनेर सरकारले यस्तो अध्ययन गर्न थालेको हो ।

हिउँचितुवाको प्रमुख संरक्षित क्षेत्रका रूपमा कञ्चनजङ्गा संरक्षण क्षेत्र मानिन्छ । हिउँचितुवाले प्रमुख आहाराका रूपमा नाउरको सिकार गर्ने गर्छ । त्यसैले सो क्षेत्रमा नाउरको सङ्ख्या, हिउँचितुवाको अवस्था, यिनको संरक्षणमा गर्नुपर्ने प्रयासलाई अध्ययनमा समेटिने जनाइएको छ ।

कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या प्रशस्त भएकाले विदेशीलाई सिकार गर्न अनुमति दिनुपर्ने माग लामो समयदेखि उठ्दै आइरहेका बेला सरकारले यसतर्फ काम अगाडि बढाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

‘‘ऐन, कानुनले संरक्षित वन्यजन्तुबाहेकका अरू वन्यजन्तुको सङ्ख्याको अवस्था हेरेर सिकार गर्न सकिने व्यवस्था गरेको छ,” विभागका महानिर्देशक डा. दीपककुमार खरालले भन्नुभयो, “लामो समयदेखि स्थानीय तहबाट पनि सिकार अनुमतिका लागि माग आएकाले यसतर्फ विभागले काम अगाडि बढाएको हो ।’’

नेपालमा हाल ढोरपाटन सिकार आरक्षमा विदेशीलाई सिकार अनुमति दिइँदै आएको छ । विशेषगरी रुस, अमेरिका, स्पेन, जर्मनी, डेनमार्क, फ्रान्स, इटाली, बेल्जियम, हङ्गेरी, पोल्यान्ड, बेलायतलगायतका मुलुकबाट बर्सेनि सिकारी आउने गरेका छन् । उनीहरूबाट बर्सेनि लाखौँ रुपियाँ राजस्व सङ्कलन हुँदै आएको छ ।

विश्वका सिकारपारखीलाई नेपाल भित्र्याएर सिकार गराउँदा पर्यटन प्रवद्र्धनका साथै स्थानीय समुदायको जीविकोपार्जन र वन्यजन्तु संरक्षणमा समेत टेवा पुग्ने भएकाले यसतर्फ पहल गरिएको कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्