Logo
Logo

सुदूरपश्चिम सरकार परिवर्तनको कसरत, कसले पाउला मुख्यमन्त्री ?


हिक्मत बम


धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको चर्चा हुन थालेको छ । नेकपा एमाले विभाजित भएसँगै सुदूरपश्चिमको राजनीतिक समिकरण फेरिने सम्भावना बढेको हो । माधव कुमार नेपालले नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरे लगत्तै एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य अहिले संघीय राजधानी काठमाडौं पुगेका छन ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न एमालेभित्रको माधव पक्षले साथ दिएको थियो । नेपालले एमाले छोडेर एमाले समाजवादी पार्टी गठन गरेपछि अब संघीय सरकारमा सामेल हुनेछ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पनि दावी गर्न सक्ने बताइएको छ ।

सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिन एमाले केन्द्रीय कमिटीले संसदीय दललाई निर्देशन दिएको थियो । तर, त्यो निर्देशन उल्लंघन गर्दै नेपाल पक्षले सरकारलाई विश्वासको मत हालेका थिए । त्यसको गुन तिर्नका लागि माधव पक्षलाई मुख्यमन्त्री दिन माओवादी लचिलो हुन सक्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशमा नेपालले बहुमत सांसद आफ्नो पक्षमा राख्ने दावी गर्दै आइरहेका छन् । अल्पमतमै रहे पनि अन्य दलको समर्थनमा एमाले समाजवादी सरकारको नेतृत्व गर्न इच्छुक देखिएको हो । नेपालले छुट्टै दल बनाएपछि अब मुख्यमन्त्रीको सम्भावना रहेको नेपाल पक्षका तर एमाले नछाडेका सांसदहरू बताउँछन् ।

यस्तो अवस्थामा मुख्यमन्त्रीमा सबैभन्दा बलियो दावी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको छ । एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका २५ सदस्यमध्ये यसअघि १७ जनाले माधव समूहलाई समर्थन गर्दै आएका थिए ।

पार्टी फुट्दा
सुदूरपश्चिममा मुख्यमन्त्री पाए ती सांसदमध्ये अधिकांशलाई आफ्नै समूहमा रोक्न सकिने सोडारीलगायत नेताको दावी छ । ‘संसद पुर्नस्थापनामा सहकार्य गरेका माओवादी र कांग्रेसले दुई मुख्यमन्त्री पाइसकेका छन्,’ सोडारीनिकट एक नेताले भने, ‘माधव नेपाललाई पनि सम्मान गर्नुपर्छ भनेर हामीले यहाँ मुख्यमन्त्री मागेका हौं, त्यो सम्भव पनि छ ।’

हाल सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह छन् । उनी माधव समूहले दर्ता गरेको नयाँ पार्टीमा जाने सम्भावना कम छ । त्यस्तो अवस्थामा माधव समूहको पार्टीले संसदीय दलको नेता नयाँ छनोट गर्नेछ ।

प्रदेश सरकारले स्थापनादेखि नै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्दै आएको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व छोड्ने मनसायमा देखिएको छैन । हाल मुख्यमन्त्री रहेका त्रिलोचन भट्टको कार्यशैलीप्रति माओवादीकै नेता असन्तुष्ट रहँदै आएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ । भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए ।

भेटवार्ताका क्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा भेटवार्तामा छलफल भएको बताइएको छ । ‘केन्द्रमा रहेको सत्तारूढ गठबन्धन र सोहीअनुसार गठबन्धनमा रहेका पार्टीको प्रदेश सरकारमा सहभागिताबारे छलफल भएको छ ।

यता सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकार गठनका लागि छलफल भइरहेको बताए । ’हामी केन्द्रको निर्णयको पर्खाईमा छौ’, रावलले भने, ’संभवत दशै अघि नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।’

हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ । केन्द्रको सहमती अनुसार उहाँले मुख्यमन्त्री पद छोड्नुपर्ने छ । सुदूरपश्चिममा नेकपा एमाले विभाजन नभएको अवस्थामा पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए । माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्