Logo
Logo

५७ भाइलाई ओलीको जवाफ- ‘पार्टीमा अब बार्गेनिङ चल्दैन’

परिस्थिति –‘भेडा भेडैतिर, बाख्रा बाख्रैतिर’


सन्तोष साह


काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै नेकपा एमाले विभाजन भइसकेको छ । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेकपा एकीकृत समाजवादी पार्टी’ दर्ता प्रक्रिया अघि बढाइसकेका छन् । केही दिनमा उक्त पार्टी औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुनेछ । पार्टी विभाजन भएर दर्ता प्रक्रियामा गएपछि केही नेताले पार्टी एकता गर्ने भन्दै वक्तव्यबाजी गर्दै आएका छन् ।

मुख्यतः माधव समूहमै रहँदै आएका दोस्रो तहका नेताले यो अभियान सुरु गरेका हुन् । उक्त समूहलाई ‘तेस्रो धार’ र ‘५७ भाइ’ पनि भन्ने गरिएको छ । तर, ‘५७ भाइ’को प्रयत्न काम नलाग्ने देखिन्छ । किनकी, एमाले पक्षले तेस्रो धारको प्रयासलाई ‘बार्गेनिङ’को संज्ञा दिएको छ । अर्थहीन भनेका छन् ।

पार्टी एकता गर्नुपर्ने भन्दै वक्तव्यबाजी गरिरहेका ५७ जना नेताले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम नै दिए । गत शुक्रबार महाराजगन्जस्थित एक पार्टी प्यालेसमा सम्पन्न ‘५७ भाइ’को बैठकले केपी र माधव दुवैलाई पार्टी एकताका लागि दबाब दिने निर्णय गर्यो । नयाँ दल दर्ताको प्रक्रियामा रहेका माधवलाई दल दर्ता रोक्न भने । ओलीलाई १० बुँदे कार्यान्वयन गर्न दबाब दिए । तर, उनीहरूको दबाब न केपीले माने न त माधवले नै सुने ।

ओली समूहका नेताहरूले ‘तेस्रो धार’को प्रस्तावलाई ‘बार्गेनिङ’ भन्ने गरेका छन् । ओली समूहका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टीले १० बुँदे कार्यान्वयन गर्ने निर्णय गरिसकेको भन्दै १० बुँदे कार्यान्वयनको नाममा ५७ जना नेताले बार्गेनिङ गरिरहेको आरोप लगाए ।

उनले भने– ‘तेस्रो धारको कुनै अर्थ छैन । उहाँहरूले गर्दै आउनु भएको भेला, वक्तव्यबाजी ठिक छैन । १० बुँदे कार्यान्वयन नगर्ने कसैले भनेको छैन । हामीले १० बुँदे अनुमोदन गरिसकेका छौं । १० बुँदे कार्यान्वयन गरौं भन्दा माधव नेपालसँगै नयाँ पार्टी खोल्न हिडेका साथीहरूले बार्गेनिङ थाल्नु भएको हो । तेस्रो धारको नाममा भइरहेको बार्गेनिङ गलत छ । यो पार्टीको हितमा छैन ।’

विगतमा माधव समूहमै रहेता पनि नयाँ पार्टी गठनको क्रममा तेस्रो धार भन्दै अलग बसेका भीम रावल, घनश्याम भुसाल लगायतले पार्टी एकताका लागि ओलीले विशेष कदम नचाले ठूलै विद्रोह गर्ने सार्वजनिक सञ्चार माध्यमबाटै अल्टिमेटम दिँदै आएका छन् । तर, ओली समूहका एमाले नेता भने अल्टिमेटमको कुनै अर्थ नहुने धारणा राख्दै आएका छन् ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ओली समूहका अर्का नेता सत्यनारायण मण्डलले तेस्रो धारको नियत नै गलत रहेको टिप्पणी गरेका छन् । एकताको नाममा उनीहरूले बार्गेनिङ गर्न थालेको उनको आरोप छ । उनले भने– ‘१० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको छ । कार्यान्वयनको लागि त पार्टी बैठकमा आउनुपर्यो नि । बाहिर बसेर बार्गेनिङ गर्ने भनेको पार्टीलाई सिध्याउने नियत मात्रै हो । पार्टीमा बार्गेनिङको अर्थ छैन । उनीहरूको नियत नै गलत छ ।’

माओवादीबाट आएका नेताबारे धारणाले नै ‘तेस्रो धार’को नियत गलत रहेको पुष्टि गर्ने उनको धारणा छ । उनले भने– ‘माओवादीबाट एमालेमा आएका नेताबारे तेस्रो धारको दृष्टिकोण नै गलत छ । २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किनुपर्छ भन्नुहुन्छ । माओवादीबाट एमालेमा आएका नेताबारे के गर्न खोजेको ? पार्टी त यसै पनि फुटेको छ, उसै पनि फुटेको छ । अब कोही कसैको कुनै बार्गेनिङ पार्टीमा चल्दैन ।’

एमालेका अर्का नेता शेरबहादुर तामाङ पनि तेस्रो धारको गतिविधि गलत भन्छन् । पार्टीमा फर्केर आउनेले नयाँ जिम्मेवारी पाउने तर्क उनको छ । एमाले केन्द्रीय कार्यालयका सचिवसमेत रहेका नेता तामाङ भन्छन्– ‘पार्टीले यस्ता अल्टिमेटम र बार्गेनिङ धेरै ब्यहोरिसक्यो । अब बार्गेनिङ हुँदैन, चल्दैन । जो–जो फर्केर आउँछन्, उनीहरूले जिम्मेवारी पाउँछन् । गुट र समूहको नाममा बार्गेनिङ गर्नेहरूलाई पार्टीले पर्खदैन ।’

तेस्रो धारबारे ओलीको टिप्पणी– पिप गयो, खिल अड्क्यो
माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि माधव समूहका नेताहरूले नै तेस्रो धारको नाममा पार्टी एकताको प्रस्ताव अघि सारेपछि एमाले अध्यक्ष ओलीले उनीहरू प्रति तुच्छ टिप्पणी गरेका छन् ।

भदौ ३ गते भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने– ‘पिलो निचोर्दा पिप त बगेर गयो । तर, खिल बाँकी नै रहेछ । खिलले फेरी दुःख दिन थालेको छ ।’ विगतमा माधव समूहमा रहेर आफूविरूद्ध लागेका दोस्रो तहका नेता माधवसँगै नगएर एकताको नाममा खिल झै बाँकी रहेको भन्दै उनीहरूले दुःख दिन थालेको ओलीले टिप्पणी गरेका हुन् ।

तेस्रो धारले भन्न खोजेको के हो ?
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री दाबी गर्न राष्ट्रपतिले आह्वान गरेपछि तत्कालीन विपक्षी गठनबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै बहुमत सांसदको हस्ताक्षर बुझाए । त्यसमा माधव समूहका सांसदले पनि हस्ताक्षर गरेका थिए । तर, राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरे ।

त्यसपछि माधव समूहसहित विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे । उक्त रिट फैसला हुने अघिल्लो दिन अर्थात असार २७ गते राति १० बजे दुवै समूहका नेता सम्मिलित कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव सार्वजनिक गर्यो । अहिले आएर तेस्रो धारले सोही १० बुँदे कार्यन्वयनको माग गरेका हुन् । उक्त १० बुँदेकै आधारमा पार्टी एकता सम्भव रहेको उनीहरूको विश्वास छ ।

तेस्रो धार सफल होला ?
अहिलेसम्मको घटनक्रम हेर्दा तेस्रो धारको प्रयास सफल हुने देखिँदैन । किनकी माधवहरू जाने भएपछि ओलीले आनन्दको श्वास लिन थालेका छन् । सकभर विगतमा माधव समूहमा रहँदै आएका कोही पार्टीमा नरहुन् भन्ने उनको मनासय बुझिन्छ । ‘खिल अड्क्यो, अझै दुःख दिने भयो’ भन्नुको अर्थ सबै जाउन भन्ने नै हुन्छ ।
अर्कोतर्फ तेस्रो धारले भनेझै माधव पनि नयाँ पार्टी दर्ता रोकेर फर्कने अवस्था छैन । किनकी, माधव पनि ओलीसँग अब सकिन्न भन्ने निर्णयमा पुगेर ठूलो रिक्स मोल्दै नयाँ पार्टी गठनमा पुगेका हुन् । त्यसैले तेस्रो धार अन्ततः ‘भेडा भेडैतिर, बाख्रा बाख्रैतिर’ अवस्थामा पुग्ने देखिन्छ ।

के थियो १० बुँदे प्रस्तावमा ?
१. केही समययता पार्टीका आन्तरिक अन्तरविरोधहरू पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोधहरूलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं ।

२. पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णय सहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

३. २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरू स्वतः बदर भएका छन् ।

४. २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) मा रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरूलाई उहाँहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा सरहको कमिटीमा संगठित गरिने छ ।

५. पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्नेगरी उक्त कमिटीमा मनोनित गरिनेछ ।

६. प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरूप हामी अगाडि बढ्नेछौँ ।

७. पार्टी तथा जनसंगठनहरू पूर्ववत् अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

८. यी निर्णयहरू आवश्यकता अनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिने छ ।

९. पार्टी, संसदीय दल र जनसंगठनहरूलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टी पंक्तिलाई आव्हान गरिएको छ ।

१०. कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवम् महासचिव कमरेडलाई अनुरोध गर्ने ।

प्रतिक्रिया दिनुहोस्