Logo
Logo

भारतमा आज दोस्रो चरणको मतदान हुँदै


- दृष्टि न्युज/संवाददाता


असाम, ५ बैशाख (एएनआई) । भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान आज बिहीबार भइरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ ।
आयोगका अनुसार, असाम (५ स्थान), बिहार (५ स्थान), छत्तीसगढ (३), जम्मु र काश्मिर (२), कर्नाटक (१४), महाराष्ट्र (१०), मणिपुर (१), उडिसा (५), तामिलनाडु (३८), उत्तर प्रदेश ८), पश्चिम बंगाल (३) र पोन्डीचरी (१)का ९५ स्थानका लागि चुनाव हुन लागेको हो ।
निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपति रामनाथ कोबिन्दले धाँधलीको आशंकामा तामिलनाडु राज्यको भेल्लोरको मतदान रद्द गर्नुभएको थियो । मतदानमा ठूलो मात्रामा रकम बरामद भएपछि आयोगले उक्त निर्वाचन क्षेत्रको मतदान रद्द गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
बिहीबारको चुनावमा कर्नाटकबाट पूर्व प्रधानमन्त्री एवं जनता दलका अध्यक्ष एचडी देवेगौडा चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिल गौडा पनि पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।
जम्मु काश्मिरको श्रीनगर क्षेत्रमा नेसनल कन्फ्रेन्सका नेता फारुक अब्दुल्लाह पनि चुनावी मैदानमा छन् । चुनावमा सम्भावित हिंसालाई ध्यानमा राखेर सरकारले श्रीनगर र घाँटीका अरु क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
उत्तर प्रदेशको मथुरामा नायिका हेमा मालिनी भारतीय जनता पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ राष्ट्रिय लोकदलका नरेन्द्र सिंह र कंग्रेसका तर्फबाट स्थानीय उद्योगी महेश पाठक हेमा विरुद्ध चुनाव लड्दैछन् ।
तामिलनाडुमै पूर्वअर्थमन्त्री पी चिदम्बरमका छोरा कार्ती चिदम्बरम चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९.४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्