Logo
Logo

दुई महिनामै तीन ठाउँ सरे राउटे



सल्यान । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दुई महिनामा ३ ठाउँ बसाइँ सरेका छन् । झन्डै डेढ महिनाको अवधिमा समुदायका ४ जनाको मृत्यु भएपछि उनीहरूले सल्यान र सुर्खेतको विभिन्न ठाउँमा बासस्थान फेरेका हुन् ।

सुर्खेतबाट असार ७ मा सल्यानको कालीमाटी–५ काल्चेडाँडामा बस्दै आएका उनीहरू चिउरीबास हुँदै सुर्खेतको गुर्भाकोट नगरपालिका–१ गुर्भाकोटडाँडामा सरेका हुन् । वर्षाका कारण जताततै हिलाम्मे भएपछि उनीहरू बासस्थान अभावमा सडकमै लहरै छाप्रो बनाएर बस्दै आएका छन् ।

कालीमाटी–५ काल्चेमा २९ वर्षीय मानसिंह शाही, ३४ वर्षका दलबहादुर शाही, ७ वर्षीया बालिका दवी शाही र चिउरीबासमा डेढवर्षे बालक मयो शाहीको मृत्यु भएपछि उनीहरू गुर्भाकोटमा बसाइँ सरेका हुन् ।

राउटे समुदायमा कसैको मृत्यु भए उक्त ठाउँलाई अशुभ मान्ने चलन छ । राउटे मुखिया सूर्यनारायण शाहीका अनुसार दुई पुरुष र दुई बालबालिकाको अकालमै ज्यान गएको बताए । ‘वर्षाको समय भएकाले चिसो हुँदा बस्नै समस्या भएको छ,’ उनले भने, ‘बासस्थान नै गतिलो नहुँदा सडकमा बस्न बाध्य छौं ।’

बासस्थान सारेलगत्तै अहिले आफूहरूलाई खाद्यान्न तथा अन्य सामग्रीको समस्या भएको मुखिया शाहीले बताए । ‘हाम्रो समुदायमा केही मानिस अझै बिरामी छन्,’ उनले भने, ‘तर जडीबुटीको भरमा उपचार गर्न बाध्य छौं ।’ आफूहरू १० वर्षपछि सल्यानको काल्चेडाँडामा फर्केको र अहिले बसेको स्थानसमेत अशुभ भएपछि जाजरकोट जाने तयारी गरेको उनले बताए ।

३ वर्षदेखि राउटे बालबालिकालाई पढाउन सहजकर्ताको रूपमा खटिएकी दुर्गा खत्रीले कोही मर्नेबित्तिकै बासस्थान सर्ने राउटेहरूको पुस्तौंदेखिको चलन भएको बताइन् । उनका अनुसार सल्यानका दुई ठाँउमा ४ जनाको मृत्यु भएपछि राउटे समुदायका अगुवाहरू मर्माहत छन् ।

दुई पुरुष अत्यधिक मदिरा सेवनका कारण थलिएर मरेका हुन् भने सात वर्षीया बालिका र डेढवर्षे बालक चिसोकै कारण मरेका हुन् । ‘अहिले दैनिकजसो पानी पर्ने भएकाले पनि उनीहरूको स्वास्थ्यमा समस्या भएको हो,’ उनले भनिन्, ‘गतिलो बासस्थान र पोषिलो आहाराको अभावमा सबै जना बिरामीजस्ता देखिन्छन् ।’ उनले राउटेहरूको संख्या बर्सेनि घट्दा उनीहरू लोप हुने अवस्थामा पुगेको बताइन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्