Logo

पत्रकार विरुद्धको घृणाले हिंसातर्फ उद्यत गरायो : आरएसएफ


पेरिस/एएफपी


पेरिस, ५ बैशाख (एएफपी) । प्रचारमुखी र अधिनायकवादी नेताहरुले पत्रकारविरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाहरुका कारण विश्वभर नै पत्रकारहरु हिंसाको चपेटामा पर्ने गरेको सञ्चार माध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले जनाएको छ ।
आरएसएफले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता सूचकमा पत्रकारहरुलाई सुरक्षित वातावरणमा काम गर्न पाउने मुलुकहरुको संख्या निरन्तर ओरालो लागेको देखिएको छ ।
सञ्चार माध्यमविरुद्ध राजनीतिक नेताहरुको जबर्जस्त शत्रुताले हिंसालाई प्रश्रय दिएको छ । प्रतिवेदनमा भनिएको छ– यही शत्रुताले पत्रकारहरुका लागि त्रास र खतराको स्तर दुबैमा व्यापक रुपमा बढेको छ ।

‘यदि राजनीतिक बहस गृहयुद्धकै जस्तो वातावरणतर्फ उन्मुख हुने हो भने लोकतन्त्र अझ बढी खतरामा पर्ने निश्चित छ,’ आरएसएफका प्रमुख क्रिस्टोफर डिलोआयरले बताए । विश्वका १८० राष्ट्रमध्ये एक चौथाईभन्दा कम मुलुकमा मात्र प्रेस स्वतन्त्रताको अवस्था राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्तराज्य अमेरिकाको प्रेस स्वतन्त्रताको अवस्था केही खस्किएर ४८औं स्थानमा पुगेको छ ।


प्रतिवेदनमा अमेरिकी राष्ट्रपतिको प्रेसमाथिका टिप्पणी निकै तुच्छ र महिला एवं रंगका आधारमा उत्पीडनयुक्त रहेको जनाइएको छ । ‘अमेरिकी इतिहासमा पत्रकारमाथि हत्याको धम्की यतिबिधि संख्यामा विगतमा कहिल्यै आएको थिएन, र सुरक्षाका लागि पत्रकारहरुले निजी सुरक्षा फर्मको सहयोग लिनु पर्ने अवस्था आएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘सञ्चार माध्यममाथिको घृणा व्यापक रहेको उदाहरण गत जुन महिनाको एउटा घटनाबाट पनि पुष्टी हुन्छ । एकजना बन्दुकधारी म्यारील्यान्ड राज्यको अन्नापोलिसस्थित क्यापिटल ग्याजेटको समाचारकक्षमा प्रवेश गरेका ती बन्दुकधारीले चार जना पत्रकार एवं अर्का एक जना कर्मचारीको दिनदहाडै हत्या गरेका थिए ।’
पेरिसमा मुख्यालय रहेको आरएसएफले आफूलाई निकै शक्तिशाली बताउने नेताहरुले आफ्ना सबै सीमा बिर्सन खोजेको जनाएको छ । साउदी पत्रकार जमाल खशोग्जीको जघन्य हत्यामा संलग्नलाई जोगाउन विश्वका शक्तिशाली नेताहरु नै उद्यत रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनिने भारतको अवस्था पनि दुई अंकले घटेको छ । पछिल्लो विवरणमा भारत १४०औं स्थानमा पुगेको छ । भारतमा गत वर्ष छ जना पत्रकार मारिएका थिए । भारतीय सत्तारुढ पार्टीको विरोध गर्नेमाथि भारतीय अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत ‘भारत विरोधी’ भन्दै प्रताडित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्