Logo
Logo

एमाले सांसदद्वारा सभामुखलाई धम्की !



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले धम्की दिएको भन्दै सत्तारुढ सांसदहरुले आपत्ति जनाएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व भएको भन्दै उनीहरुले सभामुखविरुद्ध दिइएका धम्किपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह गरेको छ।

२०७८ भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद् सचिवालयको सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसदहरुले बल प्रयोग गर्न नपरोस् भनि धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। एमाले सांसद महेश बस्नेत, प्रमुख सचेतक विशाल भट्टराई लगायतले सभामुखलाई तत्काल कारबाहीको पत्र जारी गर्न दबाब दिएका थिए।

संसदीय मर्यादा विपरीत बल प्रयोग जस्ता धम्किपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सञ्चारमाध्यममा सभामुखविरुद्ध दिएको धम्कीमूलक अभिव्यक्तिले ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्