Logo
Logo

मोदीका विश्वासपात्रको दौडाहा



काठमाडौं । नेपालमा नयाँ सरकार गठन भएसँगै नेपाल भ्रमणका आएका भारतीय सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र पारेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ का रूपमा चारदिने भ्रमणमा आएका चौथाइवालेले सोमबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उनीहरूकै निजी निवासमा पुगेर भेटवार्ता गरे । उनले आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटार भेटवार्ता गरेका थिए ।

चौथाइवालेले एक ट्वीट गर्दै आफूले पछिल्लो २४ घण्टामा नेपालका शीर्ष चार नेतासँगको भेटवार्ता गरेको उल्लेख गरेका छन् । ‘उनीहरूले पार्टी–पार्टी बीचमा लगातार संवाद गर्ने चाहना पनि व्यक्त गरेका छन्,’ चौथाइवालेले ट्वीटमा लेखेका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटबारे उल्लेख गर्दै कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले ‘दुई देश र पार्टीबीचको सम्बन्धलाई अघि बढाउने’ विषयमा छलफल भएको बताए । एमालेका एक नेताका अनुसार ओलीसँगको कुराकानीमा उनले सम्बन्ध सुधारका विषयमा जोड दिएका थिए ।

त्यस्तै, दाहाल र चौथाइवालेबीच नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । उनले ठाकुरलाई नयाँ पार्टी गठन गरेकोमा बधाई दिँदै दुई मुलुकबीच सहकार्य गर्ने विषयमा जोड दिएका थिए ।

नेपालमा ओली नेतृत्वको सरकार रहँदा भारतले सांकेतिक रूपमा ओलीलाई नै सत्तामा रहेको हेर्न चाहेको थियो । तर साउन २८ को सर्वोच्व अदालतको फैसलापछि नयाँ सरकार बनेपछि भारतको छिमेकी नीतिमा फरक महसुस भएको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्