काठमाडौं । सोमबार उपत्यकामा गाईजात्राको बिदा थियो । बिदामा सरकारी कर्मचारीहरु घुमघाममा रमाउँछन् । गृह मन्त्रालयका कर्मचारीका लागि यो गाइजात्रा बिशेष थियो । किनकि, उनीहरुका लागि पाँच तारे होटलमा भोजको आयोजना गरिएको थियो ।

सोमबार गृह मन्त्रालयले नागपोखरीस्थित मेरियट होटलमा भोजको आयोजना गरेको हो । गृह प्रशासन सुधारसम्बन्धि योजनाको छलफलका नाममा यसरी पाँच तारे होटलमा भोज राखिएको थियो ।
एकातर्फ गृह मन्त्रालयले नै कोभिडका बेला यस्ता सभा तथा कार्यक्रम नगर्न परिपत्र गरेको छ । अर्काेतर्फ कोभिड महामारीको बेला फजुल खर्च गरेर एउटा सामान्य छलफल कार्यक्रम समेत पाँच तारे होटलमा आयोजना गरिएकोमा गृहकै कतिपय कर्मचारीले अचम्म मानेका छन् । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे निकट कर्मचारीलाई बोलाइएको थियो । साथै सुझाव लिन भनेर गृहका पूर्व प्रशासनकलाई बोलाइएको थियो । ठूलो हलमा पनि खचाखच गृहका कर्मचारी र पूर्व प्रशासकको भेला गरिएको थियो । ब्रेकफास्ट र लञ्जसहितको सो कार्यक्रम गृहसचिव पाण्डेको योजनामा भएको स्रोत बताउँछ । जबकि, यस्तो कार्यक्रमका लागि गृह मन्त्रालयकै पुरानो भवनको हल पर्याप्त थियो । तर, होटलको भोज खानकै लागि सामान्य कार्यक्रम पनि पाँच तारे होटलमा भएको गृहका कर्मचारीले दृष्टिलाई बताएका छन् ।
सामान्य कार्यक्रम पनि ठूला होटलमा गर्ने कर्मचारीहरुको बानी नै लागिसकेको छ । काठमाडौं महानगरपालिकाले पनि केही दिनअघि गोकर्ण रिसोर्टमा बैठक राखेको थियो । यसले जनताबाट उठाइएको करको कुद हदसम्म दुरुपयोग भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।











