Logo
Logo

गृहमन्त्रीको लिष्टले आइजिपीलाई तनाव



काठमाडौं । नेपाल प्रहरीको लेखापालको सरुवा रोकिदा संगठनमै समस्या आएको छ । समयमा सरुवा नहुँदा कतिपय कार्यालयका प्रहरीले तलब समेत पाउन सकेका छैनन् । सरुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच कुरा नमिल्दा विवाद भएको स्रोत बताउँछ ।

कांग्रेस निकट केही लेखापालहरुले संगठनको नीति विपरीत आफ्नो सरुवामा दबाब दिएपछि विवाद भएको बताइन्छ । मन्त्री बालकृष्ण खाणले नयाँ इन्ट्री भएका लेखापाललाई पनि जिल्ला पठाउनुपर्ने, जिल्लामा रहेकालाई एक वर्षमै हटाउनुपर्ने र ६ वर्ष पुगेकालाई पनि लेखापालमै खटाउनुपर्ने दबाब दिएको गृह स्रोत बताउँछ । जसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले असहमति जनाएका छन् ।

प्रहरीमा लेखापालको अवधि दुई वर्षको हुन्छ । तर, गृहमन्त्रीले एक वर्षमै सरुवा गर्नुपर्ने बताएपछि प्रहरीमा हंगामा मच्चिएको छ । अझ भर्खरै तालिम गरेकालाई सिधैं जिल्ला पठाउन भनिएको छ । ६ वर्ष लेखापालमा बसेर अकुत कमाएकाहरुले पैसा उठाएर फेरि पनि लेखापालमै बस्ने प्रयास गरिरहेका छन् । गृहमन्त्रीले नयाँ र भ्रष्ट अधिकृतहरुलाई महत्वपूर्ण जिल्लामा पठाउन भन्दै लिष्ट दिएपछि प्रहरी महानिरीक्षक क्षेत्री तनावमा परेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ । यसरी लेखाको नीतिकै धज्जी उडाएर सरुवा भए आफु बदनाम हुने डर उनको छ ।

प्रतिक्रिया दिनुहोस्