काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले सांसदहरूलाई जबरजस्ती अपहरण शैलीमा उठाएर लगी तीन दिनसम्म रिसोर्टमा थुनेर राखेको आरोप लगाएका छन् ।

बुधबार एमालेले राखेको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष पूर्वप्रधानमन्त्री ओलीले भने, ‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि मान्छे थुनेर रखिएको छ । त्यो पनि यहाँ वरिपरि होइन, उहाँ पर टाकुरामा लगेर राखिएको छ ।’
माधवले आफ्नो पक्षको पार्टीमा हस्ताक्षर गर्न तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम गरेको टिप्पणी गरे । उनले भने, ‘यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण हो ।’
अध्यक्ष ओलीले मान्छेलाई घेराबन्दीमा पारेर बाध्य पारेर ललाई फकाइ मिठा गुलिया बचन बोलेर मिठा खान दिएर राम्रै बिस्तारामा राखेर फकाएको बताउँदै भने, ‘सुनकै पिँजडा भएपनि आखिर त्यो पिँजडै है । थुनिएकै हो ।’
अध्यक्ष ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको समेत आरोप लगाए । अध्यादेश आफैंमा असंवैधानिक नभएपनि नियत गलत रहेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो ।’
माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश स्वतः निस्क्रिय हुन्छ भन्ने वाक्यांश छुटेको भन्दै ओलीले व्यंग्य गरे । उनले भने, ‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा किन अल्मलिनुभयो थाहा छैन ।’