Logo
Logo

प्रदेश १ मा एमाले बैठक बस्दै, शेरधन राईलाई राजीनामा गराउने तयारी



विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक आज बस्दै छ । पार्टी विभाजनपछि पहिलो पटक बैठक बोलाइएको हो ।

स्रोतका अनुसार बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको छ ।

एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको स्रोतको भनाई छ । आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

संसदीय दलको बैठक बोलाउनु राजनीतक र नैतिक रुपले गलत भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए ।

आफ्नो पक्षमा सांसद बढाउने उद्देश्यले दलको बैठक बोलाएको उनको भनाई छ । ‘मलाई निम्तो आएको छैन, तर दलको नयाँ नेता छनोट गर्ने भन्ने सुन्दैछु’ उनले भने ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नयाँ नेता छनोट गर्न सक्ने उनको भनाई छ । एमालेसँग बहुमत रहेको बताउँदै उनले ठूलो दलको हैसियतमा सरकारमा रहने बताए ।

बैठकमा माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले आफूलाई बैठकको निम्तो आए पनि नजाने बताए ।

मुख्यमन्त्रीमा भीम अचार्य चयन भए पनि विश्वासको मत नपाउने उनको भनाई छ । ‘एक महिनाका लागि किन मरिहत्ते गरेको होला,’ उनले भने,’ भोलि विश्वासको मत जुट्दैन् ।’

प्रतिक्रिया दिनुहोस्