विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन् । दलको नेता चयन भएसँगै आचार्य आजै मुख्यमन्त्री बन्ने भएका छन् ।

दलका नेता शेरधन राईले दलको आजको बैठकमा राजीनामा दिएपछि आचार्य दलको नेता चयन भएका हुन् । यसैबीच ५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ । दलको बैठक सम्पन्न हुनेवित्तिकै मुख्यमन्त्री राईले पदबाट आजै राजीनामा दिएपछि आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।
आचार्य मुख्यमन्त्री बने पनि केही दिनमात्र रहने सम्भावना देखिन्छ । मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आचार्यले विश्वासको मत लिनुपर्ने हुन्छ । तर, एमाले विभाजनसँगै १२ देखि १५ जना सांसद नेकपा एकीकृत समाजवादीमा जाने निश्चित भएकाले मुख्यमन्त्री भएपनि आचार्यले विश्वासको मत लिन नसक्ने निश्चित छ ।












