Logo
Logo

सरकारविरुद्ध आन्दोलन गर्ने बेला आएको छ : सभापति देउवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा केही काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाल विद्यार्थी संघको ४९औँ स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौंले शुक्रबार राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको समेत बताए । उनले भने, ‘निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महँगी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको छ ।’
सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसंघको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारले कुरामात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए ।
‘नेविसंघको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ’, उनले भने । कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । उनले भने, ‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसंघको संगठन विस्तारमा लाग्नुपर्छ ।’
कार्यक्रममा सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसंघको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए । त्यस्तै, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसंघलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए ।
नेविसंघका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसंघ उत्रनुपर्ने बेला आएको उल्लेख गरे । नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्यले नेविसंघको कार्यसमिति तत्काल गठन गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्