Logo
Logo

बचतमा आयो शोधनान्तर स्थिति



काठमाडौं । मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) बचतमा आएको छ । गत आर्थिक वर्ष (अब) को अन्त्य अर्थात् असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति रू. १ अर्ब २३ करोडले बचतमा आएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको गत आवको मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

अघिल्लो आव २०७६/७७ मा शोधनान्तर स्थितिमा रू। २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा थियो । तर, जेठ मसान्तसम्म शोधनान्तर रू। १५ अर्ब १५ करोडले घाटामा गएको थियो । असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति पुनः बचतमा आएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले असारमसान्तसम्म शोधनान्तर स्थिति बचतमा आएको बताए । ‘गत जेठसम्म आउँदा शोधनान्तर स्थिति घाटामा गएको थियो । तर, त्यो एकदम कम थियो,’ उनले भने, ‘शोधनान्तर घाटा कम हुँदा तत्काल बचतमा पुगेको हो ।’

गत आवको आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले मुलुकको समग्र वित्तीय स्थिति सकारात्मक देखिएको छ । कोरोना महामारीका बीच पनि गत आवको वित्तीय स्थिति सन्तोषजनक रहेको ढकालले बताए ।

गत आवमा उपभोक्ता मुद्रास्फीति ९मूल्यवृद्धि० प्रक्षेपणभन्दा कम देखिएको छ । राष्ट्र बैंकले गत आवमा उपभोक्ता मुद्रास्फीति औसतमा ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गर्ने बताएको थियो । तर, गत आवमा वार्षिक औसत मुद्रास्फीति ३ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो आवमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको थियो । चालू आवमा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिइएको छ ।

२०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्