Logo
Logo

कर्मचारीको लापरबाहीले सेवाग्राहीलाई सास्ती


हिक्मत बम


धनगढी । इलाका प्रशासन कार्यालय सुखडले बारअनुसार सेवा प्रदान गर्दै आएको छ । सुखडबाट चार वटा स्थानीय निकायका नागरिकले सेवा लिइरहेका छन् ।

कैलाली सुगम मानिएको जिल्ला भएपनि साविकका सात वटा गाउँ विकास समिति (हालका दुई वटा स्थानीय तह चुरे र मोहन्याल गाउँपालिका) दुर्गम पहाडी क्षेत्रमा पर्दछन । कैलाली जिल्ला ठूलो र भौगोलिक हिसावले निकै विकट छ ।

यसलाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्ना सेवाहरु छिटोछरितो र सजिलो तवरले प्रदान गर्नका लागि जिल्लाका तीन ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रशासन कार्यालय टीकापुर र जिल्ला प्रशासन कार्यालय धनगढीबाट सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढीले चार वटा स्थानीय निकाय चुरे गाउँपालिका, गोदावरी नगरपालिका, धागढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका नागरिकसँगै जिल्लाका सबै ठाउँबाट आउने सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै इलाका प्रशासन कार्यालय सुखडले चार वटा स्थानीय निकाय गौरीगंगा, घोडाघोडी नगरपालिका र मोहन्याल, बर्दगोरिया गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ भने इलाका प्रशासन कार्यालय टीकापुरले पाँच वटा स्थानीय निकाय जानकी र जोशीपुर गाउँपालिका, लम्की—चुहा, टीकापुर र भजनी नगरपालिकाका स्थानीयहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले भौगोलिक विकटतालाई मध्यनजर गर्दै जिल्लाका तीन ठाउँबाट सेवा प्रदान गर्दै आएपनि कर्मचारीको लापरवाहीले सेवाग्राहीहरुले सहजै सेवा प्राप्त गर्न नसकेको गुनासो गरेका छन । सेवाग्राहीहरुले कर्मचारीहरु समयमा कार्यालयमा नपुग्ने, कार्यालयमा भएपनि मोवाइल फोनमा व्यस्त हुने, यदि सेवाप्रदान गर्न लागेका भए आफन्तहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने, समयको मध्यनजर नगर्ने जस्ता गुनासाहरु गरेका छन् ।

कर्मचारीको लापरबाहीले सेवा सुस्त

सेवाग्राहीहरुले इलाका प्रशासन कार्यालले सेवा प्रवाहमा चरम लापरवाही गरेको गुनासो गरेका छन् ।

दोस्रो लहरको कोरोना संक्रमण कम हुँदै गएपछि भदौ १० गतेदेखि पुनः सेवा प्रदान गर्दै आएको इलाका प्रशासन कार्याल सुखडले सेवा प्रवाहमा ढिलासुस्ती गर्दै आएको मोहन्याल र बर्दगोरिया गाउँपालिकाका सेवाग्राहीहरुले गुनासो गरेका हुन् । उनीहरुले इलाका प्रशासन कार्यालय सुखडले बार अनुसारको सेवा प्रदान गरेपनि आफूहरुको विहीबार र शुक्रबारका दिन पालो भएपनि सजिलो तवरले सेवा लिन
नपाएको गुनासो छन् ।

विहीबार मोहन्याल गाउँपालिका वडा नम्बर ७ बाट नागरिकता बनाउन आएका दिपक माझीले इलाका प्रशासन कार्यालय सुखडले आफूहरुलाई विहीबार र शुक्रबार सेवा दिने भनेर सूचना निकालेको थियो । सोहिअनुसार बिहीबार नगरिकता बनाउन १ दिनभरी जोखिमपूर्ण बाटो हिँडेर अर्को दिन सुखडको प्रशासन कार्यालयमा पुगे तर त्यहाँ दिउँसोको १२ बजेसम्म कर्मचारीनै कार्यालयमा देखेनौं । र, कर्मचारीकै पर्खाइमै १ बज्यो । उनले भने, ‘कर्मचारीहरु दिउँसोको १ बजे कार्यालय त पुगे काम भने भएन ।’

जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढीबाट सेवा लिन त सजिलो थियो तर के गर्ने धनगढी जान सकिँदैन र सकिएपनि धनगढी पुगेर नागरिकता बनाएर घर पुग्दा त ४ दिन पुरै लाग्छ, चार÷चार दिनसम्म नागरिकताकै लागि १५ हजार खर्च हुन्छ, उनले दुखेसो पोखे ।

उनले जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्ना सेवाहरु छिटोछरितो, सजिलो र सरल तरिकाले प्रदान गर्नका लागि इलाका प्रशासन कार्यालय खोलेको हो तर पनि हामीहरुले सजिलो तरिकाले सेवा पाउन सकेका छैनौं । उनले भने, ‘यहाँ त सेवा लिनका लागि पहुँच चाहिंदो रहेछ । आफ्नो त पहुँचनै भएन नाकरिकता बनाउनका लागि वडा कार्यालयबाट सिफारिस त ल्याइयो तर नागरिकता कहिले बन्ने हो थाह छैन । कति दिन सुखडमै बस्नुपर्ने हो, त्यो नि थाहा छैन ।’

उनले आफन्तवाद लागु गरेर कर्मचारीहरुले सेवा प्रदान गर्ने गरेको आरोप लगाए । उनले भने, ‘विहीबार र शुक्रबार मोहन्याल र बर्दगोरियाबासीको पालो भएपनि कर्मचारीहरुले आफन्तवाद लागू गर्दै घोडाघोडी र गौरीगंगा नगरपालिकाका स्थानीयहरुलाई सेवाप्रदान गर्दै थिए ।’

त्यस्तै, नागरिकताको प्रतिलिपि लिन इलाका प्रशासन कार्यालय सुखड पुग्नु भएकी मोहन्याल गाउँपालिका ३ की टंकाकुमारी भण्डारीले कर्मचारी समयमा कार्यालयमा नपुग्दा सेवा प्रवाहमा ढिलो भएको गुनासो गरे । उनले भने, ‘दिउँसोको १ बजेसम्म पनि कर्मचारीहरु कार्यालयमा नपुग्दा दिउँसोको प्रचण्ड गर्मीका कर्मचारीलाई कुर्दै बस्नुप¥यो ।’

उनले भौगोलिक हिसावले विकट ठाउँका भएकाले कर्मचारीहरुले हामीहरुलाई हेपेको बताए । उनले कर्मचारीहरु दिउँसोको १ बजेसम्म पनि कार्यालयमा नपुग्ने बताए ।

भौगोलिक हिसावले विकट मोहन्यालका जनताहरु राज्यका हरेक सेवासुविधबाट बञ्चित हुनुपरेको छ । त्यसको ज्वलन्त उदाहरण बनेको नागरिकता बनाउन प्रशासन कार्यालय पुग्दा खेप्नुपर्ने सास्ती । कैलालीका मोहन्याल र चुरेबासीहरु राज्यबाट पाउने हरेक सुविधाहरु हेपाह तवरले लिन बाध्य भएको उनीहरुको गुनासो छ ।

यता इलाका प्रशासन कार्यालय सुखडका प्रमुख बबालाराम घिमिरेले बार अनुसारको सेवा प्रदान गरेपनि प्राथमिकताका आधारमा अरुलाई पनि सेवा प्रदान गरिरहेको बताए । उनले भने, ‘प्राथमिकताका आधारमा अपांग, बृद्धबृद्धाहरुलाई पनि सेवा प्रदान गर्दै आएका छौं ।’ उनले कोरोनाले बन्द भएका कार्यालयहरु साउनको १० गतेदेखि पुनः सुरु भएपछि साउनको १५ गतेबाट इलाका प्रशासन कार्यालयमा भिडभाड बढेको बताए । पछिल्लो समय नागरिकताका प्रतिलिपि लिने र राहदानी बनाउनेको भिडभाड बढी छ ।

इलाका प्रशासन कार्यालय सुखडले चार स्थानीय निकायका मोहन्याल, बर्दगोरीगा गाउँपालिका र गौरीगंगा, घोडाघोडीका नगरपालिकाका जनतालाई सेवा प्रदान गर्दै आएको छ । इलाका प्रशासन कार्यालय सुखडले नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने, राहदानीका लागि सिफारिस गर्ने, नाबालिक प्रमाणपत्र प्रमाणित गर्ने लयायतका कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्