Logo
Logo

कांग्रेसमा महाधिवेशन चटारोः निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले सम्पर्क कार्यालय खोल्न थालेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार नयाँबानेश्वरको थापागाउँमा महाधिवेशनका लागि सम्पर्क कार्यालय खोलेका छन् ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे । यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन्। केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन् ।

निधिले सम्पर्क कार्यालय उद्घाटन अलि फरक किसिमबाट गरेका छन् । उद्घाटन गर्नुअघि पशुपतिनाथ मन्दिरका मूल भट्टका प्रतिनिधि, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत मन्दिरका पुजारी तथा पण्डितहरूले सम्पर्क कार्यालयमा पूजापाठ गरेका थिए । निधिले ती पुजारी तथा पण्डितबाट आशीर्वाद लिएर सम्पर्क कार्यालय उद्घाटन गरेका थिए। त्यस अवसरमा पण्डित तथा विभिन्न मन्दिरका पुजारीले मन्तव्य पनि राखे ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम राजनीतिक भए पनि धार्मिक अनुष्ठानजस्तो देखिन्थ्यो । निधिले रुद्राक्ष र सयपत्रीको माला लगाएका थिए । आफूलाई विभिन्न शक्तिपीठका पुजारी र धार्मिक गुरूहरूले आशीर्वाद दिएको उनले बताए । उनले धार्मिक गुरु कमलनयनाचार्यसँग पनि आफूले आशीर्वाद लिएको सुनाए । कार्यक्रममा उनले नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने पनि बताए ।

सभापतिमा आफ्नो उम्मेदवारी कसैलाई हराउन वा कसैलाई अक्षम देखाउन नभएको निधिले बताए । आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफू सभापति बन्न चाहेको उनको भनाइ थियो । निधिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवासँग निकट भनेर चिनिएका नेताहरूको पनि उपस्थिति थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्