Logo
Logo

मुख्यमन्त्री आचार्यले आफू निकटकालाई मन्त्री बनाएपछि…



विराटनगर । उपहारमा जस्तै प्रदेश १ को मुख्यमन्त्री पद प्राप्त गरेका भीमप्रसाद आचार्य मन्त्रिपरिषद विस्तारको क्रममा विवादमा फसेका छन् । माधवकुमार नेपाल समूह छाडेर नेकपा एमालेमै रहने निर्णय गरेपछि उनी मुख्यमन्त्री बनेका हुन् । तर, उनी मन्त्री बनाउनेक्रममा विवादमा आएका छन् ।

शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपछि संखुवासभाका तुलसी न्यौपानेलाई नछुटाउन निवर्तमान मुख्यमन्त्री शेरधन राईले सुझाव दिएका थिए । तर, मुख्यमन्त्री आचार्यले आफू निकटका दुई जनालाई मन्त्री नियुक्त गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए ।

यसअघि माधकुमार नेपाल समूहमा रहेका न्यौपाने सर्बोच्च अदालतको आदेशबाट नेकपा विभाजित भएपछि ओली समूहमा लागेका सांसद हुन् । आफूलाई धोका दिएर त्यसबेला ओली समूहमा लागेको कारण आचार्यले न्यौपानेलाई मन्त्री बनाउन आनकानी गरे । पार्टी अध्यक्षको निर्देशन आउँदा पनि न्यौपानेलाई मुख्यमन्त्रीले मन्त्री नियुक्त नगरेको एमाले सांसद राजकुमार ओझाको भनाइ छ ।

‘विगतमा आफ्नो टिम छाडेर अध्यक्ष ओलीको नेतृत्वलाई साथ दिएकै कारण आचार्यले न्यौपानेलाई सपथ गराउन इन्कार गरेको अनुमान छ’ ओझाले भने, ‘उहाँहरुभन्दा अलि अगाडि नै एमालेमा आएको कारण गद्दार भनेर नबनाएको होला, त्यसबारे उहाँले नै जवाफ दिनुहोला ।’
पार्टी अध्यक्षकै निर्देशन अवज्ञा भएपछि प्रदेशको सत्तारुढ एमालेमा खटपट सुरु हुने निश्चित प्रायः भएको छ । आचार्यले ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग वन पर्यटन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।

यसअघि शुक्रबार दिनभर चलेको विभिन्न चरणको छलफलमा मन्त्रीहरुका आकांक्षी धेरै देखिएका थिए । आचार्यले भने माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेका १० जनामध्येबाट मन्त्री बनाउने प्रयास गरेका थिए । तर, १० जना नै सम्पर्कमा नआएको कारण उनको प्रयास सफल भएन ।

मन्त्रिपरिषद विस्तारमा जीवन घिमिरेदेखि उदयपुरका बिमल कार्कीसम्म दाबेदार रहेपछि आचार्य दबाबमा थिए । घिमिरेले यसअघि एमाले संसदीय दलको नेताको निर्वाचनमा समूह छाडेर शेरधन राईलाई मतदान गरेको कारण पनि उनीप्रति आचार्य सकारात्मक थिएनन् । उनले अर्को चरणमा थप मन्त्री नियुक्त गर्ने बताएका छन् ।

मुख्यमन्त्री आचार्यले भने आफू निकटका दुईलाई मात्रै सपथ गराएपछि एमालेमा विवादको विजारोपण भएको एक सांसदले बताए । मन्त्री बनेका साम्सोहाङ र तिवारी नेपाल समूहकै हुन् । साम्सोहाङ ताप्लेजुङको र तिवारी तेह्रथुमको एमाले अध्यक्ष थिए । एमालेमा १० बुँदे सहमति भएपछि उनीहरु आचार्यसँगै एमालेमै रहने निर्णय गरेका थिए ।

बिहीबार मात्रै मुख्यमन्त्री पदको सपथ लिएका आचार्य माधव नेपालको साथ छाडेर एमालेमै रहने निर्णय लिएका नेता हुन् । १० बुँदे सहमति कार्यान्वयन भएको र पार्टी विभाजन अस्वीकार्य रहेको भन्दै नेता नेपालको साथ छाडेका उनलाई प्रदेशमा मुख्यमन्त्री बनाउने आश्वासन ओलीले दिएका थिए ।

आचार्यले भने अध्यक्षकै निर्देशन अवज्ञा गरेर राम्रो नगरेको ओली पक्षको बुझाई छ । ‘पार्टीका सांसदहरु कायम राख्ने शर्त राखेर मुख्यमन्त्री भएका कारण अहिले उहाँले अध्यक्षकै निर्देशन अवज्ञा गर्ने हिम्मत गर्नुभएको हुनसक्छ’, ओली समूहका एक नेताले भने ‘पार्टी एकता जोगाउने नाममा अहिले अध्यक्षमाथि ठूलै दबाब छ । त्यसैको फाइदा लिँदै उहाँले निर्देशन नमान्नुभएको हुनसक्छ । यो राम्रो भएन ।’

प्रदेशसभामा ५१ सदस्य रहेको एमालेमा १८ जना माधव नेपाल समूहमा थिए । तीमध्ये ८ जनाले एमालेमै रहने निर्णय लिइसकेका छन् । बाँकी १० जना माधव समूहमै छन् । जुन संख्या नयाँ सरकार बनाउन पुग्दो हो । काँग्रेस, माओवादी, जसपा सहितको गठबन्धनमा रहेको माधव समूहले नयाँ सरकार बनाउनका लागि पहल थालिसकेको गठबन्धन स्रोतको भनाइ छ ।
हाम्रोमतबाट

प्रतिक्रिया दिनुहोस्