कमिसनको चक्करमा मन्त्रीले किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन « Drishti News – Nepalese News Portal
Logo

कमिसनको चक्करमा मन्त्रीले किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन


दृष्टि संवाददाता


जनकपुरधाम । प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेको छ ।

वारुणयन्त्र संचालन तथा रेखदेख सम्बन्धी कार्यविधि नै नबनाई तथा प्रहरी प्रशासनसँग छलफल नै नगरी कमिसनको प्रलोभनमा उक्त वारुणयन्त्र खरिद गरेको आरोप लागेपछि प्रहरीले लिन अस्वीकार गरेको हो ।

उक्त वारुणयन्त्र प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीयतहलाई बुझाउने तयारी गरेको छ । सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो ।

खरिद गरिएको लामो समयसम्म पनि प्रहरीले उक्त वारुणयन्त्र विनासर्त लिन अस्वीकार गरेपछि बर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्थानीयतहलाई बुझाउने तयारी गरेका हुन् ।

उक्त वारुणयन्त्र तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले कमिसनको प्रलोभनमा उक्त वारुणयन्त्र खरिद गरेको आरोप लाग्दै आएको छ ।

लामो समयदेखि खुल्ला आकासमा थन्काइएका वारुणयन्त्र बिग्रिने अवस्थामा पुगेका छन् । प्रहरीले वारुणयन्त्र संचालनको लागि इन्धन, मर्मतसम्भार गर्न वर्षेनी बजेट छुट्याउनुपर्ने सर्त राखेको छ ।

प्रदेश सरकारले प्रहरीको उक्त सर्त अस्वीकार गरेको छ । मन्त्री साहले प्रदेश प्रहरी अझै पनि संघीय सरकारकै मातहतमा रहेकोले बजेट दिन नसकिने जनाउँदै आएको छ ।

प्रदेश सरकारले बजेट दिन नसकिने भनेपछि प्रहरीले ९ वटा वारुणयन्त्रमध्ये ४ वटा मात्रै लिएको छ । नेपाल प्रहरी अन्तर्गत वीरगंजमा रहेको विपद व्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालयको लागि ४ वटा वारुणयन्त्र प्रहरीले केही दिन अघि बुझेको थियो ।

-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्