Logo
Logo

कतारमा १० वर्षमा १८ सय नेपालीको मृत्यु



काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले कतारमा ज्यान गुमाएका आप्रवासी नेपाली श्रमिकबारे चासो देखाउँदै मृत्यु प्रमाणपत्र जारी गर्नुअघि गम्भीर अनुसन्धान गर्न कतार सरकारलाई आग्रह गरेको छ । काम गर्ने समय लामो हुने, शारीरिक श्रम बढी हुने तथा चर्को गर्मीका कारण हुने मृत्युका सम्बन्धमा एम्नेस्टीले विशेष चासो देखाएको हो ।

‘अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गर्छ ।

आप्रवासी श्रमिकको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीले केही महत्त्वपूर्ण संकेतलाई बेवास्ता गरिरहेका छन्,’ एम्नेस्टीका तर्फबाट बिहीबार जारी विज्ञप्तिमा आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भनेका छन्, ‘यो बाँच्न पाउने अधिकारको उल्लंघन हो । उनीहरूले पीडित परिवारको कानुनी उपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेका छन् ।’

जारी गरिएका मृत्यु प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गर्न श्रम, स्वास्थ्य र न्याय मन्त्रालयका प्रतिनिधिसहितको उच्चस्तरीय छानबिन समिति गठन गर्न एम्नेस्टीले माग गरेको छ । ‘मुख्य कारण जनाउने थप व्यहोरा बिनाश्वासप्रश्वास वा मुटुको समस्याका कारण ज्यान गएको भन्ने वाक्यांशलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन । तर त्यस्तो समस्याले नै सबैको मृत्यु हुन्छ र त्यसको कारण नखुलाइएका वाक्यांश अर्थहीन हुन्छन्,’ एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ ।

कतारमा कामदारको मृत्युबारे अनुसन्धान नहुँदा पीडित परिवार क्षतिपूर्तिबाट वञ्चित हुने गरेका छन् । यसैको उदाहरण हो, रोल्पाको लुङ्ग्री गाउँपालिका–७ का तुलबहादुर घर्तीको परिवार । तुलबहादुर विवाह गरेको दुई महिनामै श्रीमती विपनालाई घरमै छाडेर कतार उडेका थिए । ‘सधैं इमोबाट कुरा हुन्थ्यो । कहिले ड्युटी जानुभन्दा अगाडि त कहिले ड्युटीबाट फर्केपछि,’ विपनाले भनिन् । २०७७ जेठ १५ राति ९ः३० मा तुलबहादुरसँगको संवाद विपनाका लागि अन्तिम रह्यो ।

‘त्यो दिन राम्रै कुरा भयो । भोलि बिहान कुरा गर्ने भनेर हामी बिदा भयौं । बिहान उहाँ अनलाइन देखिनुभएन,’ उनले भनिन् । एक्कासि दिउँसो कम्पनीको क्याम्पबोस (श्रमिक आवासस्थलका प्रबन्धक) ले फोन गरी तुलबहादुरको मृत्यु भएको जानकारी दिए ।

‘क्याम्पबोसले राति सुतेका बेला उहाँको मृत्यु भएको भने,’ उनले भनिन्, ‘एकपटक पनि उहाँ बिरामी पर्नुभएको कहिल्यै सुनेको थिइनँ ।’ २८ वर्षीय विपनाले श्रीमान्को पोस्टमार्टम गर्न चाहेकी थिइन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्