Logo
Logo

युवा मिलेर जिल्लामै जुत्ता चप्पल उद्योग सञ्चालन



तनहुँ । स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ जिल्लाका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिप्रर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् ।

व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए । उनका अनुसार अहिले उद्योगबाट दैनिक ५०० देखि ७०० जोर जुत्ता चप्पल उत्पादन हुँदै आएको छ । उक्त उद्योगमा उत्पादित सामग्री तनहुँ, गोरखा, लमजुङका विभिन्न बजार क्षेत्रमा बिक्री हुँदै आएको छ ।

करिब रु दुई करोडका लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो । उनले भने, “सञ्चालनमा ल्याइएको झण्डै आठ महिनाका अवधिमा करिब २० हजार उत्पादन गरिएको छ ।” छोटो अवधिमा बजार क्षेत्र पकड लिन सकेकाले थप हौसला मिलेको उनले बताए ।

आसपास जिल्लाका व्यपारीलाई काठमाडौं नारायणगढबाट ल्याएको भन्दा रु एक÷दुई सस्तो दिँदा व्यवसायी पनि खुशी भएका छन् । टाढाबाट सामान खरिद गरी ल्याउँदा महङ्गो गाडी भाडा तिर्नुपर्ने यहाँका व्यवसायीलाई केही हदसम्म भए पनि राहतको महसुस गरिएको छ । उद्योगमा हाल छ जनशक्तिले काम गरिरहे पनि बजारको मागअनुरुप सामान उत्पादन गरी पु¥याउन गाह्रो भएको निर्देशक राउत बताए ।

उत्पादित सामानमा कमजोरी नदेखिएको कम्पनीका सचिव दयाराज कट्टेलले बताए । राम्रो, गुणस्तर र बलियो भएका कारण सबैको मन जित्न सफल भएको महसुस गरेका छौँ”, उनले भने ।

कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यावसायिक तरकारी खेती गर्नेसमेतका योजना बनाइरहेको छ । पहिलो चरणमा उद्योग सञ्चालनसँगै ६०० स्थानीय जातका कुखुरा फार्मसमेत सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष पदमबहादुर थापा मगरले बताएका छन् । उनले भने, “केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिमलगायतका उत्पादन थप्ने योजना रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्