Logo
Logo
चुरे संरक्षणमा चुनौती

रौतहटका ३१ सय हेक्टर बढी जमिन अतिक्रमणको जोखिममा


रुपेन्द्र पटेल


रौतहट । रौतहटको चुरे क्षेत्रमा बसोवास गर्दै आएका मानिस व्यवस्थित गर्न नसक्दा चुरे क्षेत्रमा जोखिममा बढ्दै गएको छ । चुरे क्षेत्र तराईका लागि पानीको मुख्य श्रोत रहेपनि अतिक्रमणका कारण पानी सुक्दै गएको छ ।

चुरेको अतिक्रमण, वन फडानी, डडेला र नदी कटानका कारण चुरे संरक्षणमा चुनौती देखिएको छ । पछिल्लो समय चुरेको फेदिबाट टयाक्टर व्यवसायीले जथाभावी रूपमा बालुवा, गिट्टी, ढुंगा निकासी गर्दा चुरे संरक्षणमा थप समस्या देखिएको छ । चुरे नजिकैबाट ढुंगा, गिट्टी, बालुवा निकाल्दा नदीहरूले आफ्नो धार बदलेर खेतीयोग्य जमिन कटानका साथै बस्तीमा पस्ने खतरा पनि बढ्दै गएको छ ।

रौतहटको भोलनटार, हिलेखोला, फूलबारी, पौराई लगाएतका चुरे क्षेत्रमा वर्षौ देखि मानिस बसोवास गर्दै आएका छन् । जिल्लाको २५ किलोमिटर चुरे क्षेत्रमा तिन हजार भन्दा बढि घर टहराहरु निर्माण भईसकेका छन । जिल्ला वन कार्यालय रौतहटका अनुसार ३१ सय ९० हेक्टर चुरे क्षेत्र अतिक्रमण गरी मानिसहरुले बसोबास र खेती गर्दै आएका छन ।

चुरे क्षेत्रमा अतिक्रमण गरिएको जग्गा कठ्ठाको ५० हजार भन्दा बढि मुल्यमा किनबेच हुने गरेको चन्द्रपुर नगरपालिका वडा नं-३ का स्थानिय उत्तम आचार्यले बताए ।

चुरे क्षेत्रमा रहको वन सामुदायिक वन रहेकाले स्थानीयले संरक्षणमा ध्यान दिनु पर्ने जिल्ला वन कार्यलय रौतहटका प्रमुख अमरदेव यादबले बताए । पछिल्लो समय कोरोना महामारीका कारण चुरे संरक्षणमा वृक्षारोपण लगायतका विभिन्न कार्यक्रमहरु गर्न नसकिएको प्रमुख यादबको भनाइ रहेको छ ।

रौतहटमा २९ हजार चार सय हेक्टर वन क्षेत्र मध्ये पाँच हजार हेक्टर चुरे क्षेत्रमा रहेको छ । विगतका वर्षहरूमा जिल्ला वन कार्यालय र भूसंरक्षण कार्यालयले चुरे क्षेत्रमा करोडौं खर्च गरे पनि प्रभावकारी नभएको, वृक्षारोपण गरिएका अधिकांश ठाउँ उजाड रहेको स्थानियहरु बताउँछन । सरकारले वर्षै देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वृक्षारोपण, संरक्षण, बिरुवा उत्पादन जस्ता योजना सञ्चालन गरिए पनि उपलब्धी भने शुन्य बराबर रहेको छ । जिल्लामा बिभिन्न निकायबाट चुरे संरक्षणका नाममा बर्सेनि करोडौ रकम खर्च हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्